
पूर्णपुष्टि, भदौ १७
विश्व स्वास्थ्य संगठनले कोरोना महामारीकै बीच आनीबानी सुधार्दै अगाडि बढ्नु पर्ने जनाएको छ । युरोपमा कोरोना भाइरसको सङ्क्रमण भए पनि राष्ट्रियस्तरमा अब लकडाउन लगाउन नपर्ने संगठनका युरोप निर्देशक हेन्स क्लुगले बताएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ ।

खोप नलगाउँदासम्ममा मानिसले आनीबानीमा परिवर्तन ल्याएर कोरोनासँग लड्नु पर्ने र आवश्यकता परे निश्चित क्षेत्रमा मात्रै लकडाउन लगाउनु पर्ने जनाईएको छ ।
आउँदा महिनामा कोरोनाको दोस्रो लहरको डर भए पनि राष्ट्रिय स्तरमा लकडाउन नगरी दूरी कायम, मास्कको अनिवार्य प्रयोग लगायतका स्वास्थ्य मापदण्ड अपनाउनु पर्नेमा जोड दिएका छन् ।
बेलायतले कोरोना भाइरस विरुद्धको खोप यो वर्षको अन्तिमसम्ममा दिन सकिने जनाएको छ । बेलायतको स्वास्थ्य मन्त्रालयले यस वर्षको अन्तिमसम्ममा खोप लगाउन सुरु गर्ने जनाएको हो ।
