
पूर्णपुष्टि, जेठ ५ । युईएफए युरोपा लिग उपाधिको लागी स्पानिस क्लब सेभिल र इटालियन क्लब रोमाबिच भिडन्त हुने भएको छ । सेमिफाईनलमा सेभिलले इटालियन क्लब युभेन्ट्समाथि जित निकाल्दै फाईनल प्रवेश गरेको हो भने रोमाले जर्मन क्लब बायर लेभरकुजनमाथि जित निकाल्दै फाईनल प्रवेश गरेको हो ।
बिहिबार राति भएको दोस्रो लेगमा सेभिलले युभेन्टसमाथि २–१ गोलको जित सहित समग्रमा ३–२ गोलले हराउँदै फाईनलमा स्थान बनाएको हो । पहिलो लेगमा यी दुई टोलीले १–१ को बाराबरी खेलेको थियो ।
सेभिलको घरेलु मैदानमा भएको दोस्रो लेगको खेलमा युभेन्टसले पहिलो आग्रता लिएको थियो । ६५ औं मिनेटमा युभेन्टसका दुसान भाल्होभिचले गोल गरे भने खेलको ७१ औं मिनेटमा सेभिलका सुसोले खेललाई बराबरीमा ल्याए । त्यसपछि अतिरिक्त समय गएको खेलको ९५ औं मिनेटमा एरिक लामेलाको निर्णयक गोलमा सेभिलले युभेन्टसमाथि जित हात पारेको हो । हालसम्म सेभिलले ६ पटक युरोपा लिगको उपाधि जितेको छ ।
त्यस्तै रोमाले पहिलो सेमिफाईनल खेलमा लेभरकुजनलाई १–० गोलले हराएको थियो भने दोस्रो लेगको खेल बराबरीमा रोक्दै समग्रमा १–० को जित सहित रोमाले फाईनलमा स्थान पक्का गरेको हो । उपाधिको लागी सेभिल र रोमाले हंगेरीको बुढापेस्टमा यही मे ३१ मा प्रतिष्पर्धा गर्नेछ । युरोपेली क्लब फुटबलमा च्याम्पियन लिग पछिको युरोपा लिग दोस्रो ठुलो प्रतियोगिता हो ।
