Saturday, May 30News That Matters

राउतले महाधिवेशन प्रतिनिधि बन्ने मत पाएनन्

पूर्णपुष्टि, कार्तिक २८ ।
नेकपा एमाले उदयपुरमा राम्रो प्रभाव छ भन्ने भान देखाउने भागवत राउत महाधिवेशन प्रतिनिधि निर्वाचनमा पराजित ब्यहोरेका छन् । उनले १ हजार ८६९ खसेको मतमा छ सय मत पनि पाउन नसकेपछि पराजित ब्यहोरेका हुन् । उनले ५९४ मत पाए । खुल्लातर्फ २४ जना उम्मेदवार मध्ये ६ जना विजयी हुँदा जिल्ला सचिवालय सदस्य रहेका राउत विजयीको लिष्टमा पर्न सकेनन् । उनको निकट मत अंक ६२४ प्राप्त गर्ने कालु लामा विजयी भएका छन् ।
एमाले उदयपुरको राजनीतिको पुरानो नेता मणीराज उपाध्याय पौडेल पनि पराजित भएका छन् । १५ वर्ष पार्टी सचिव चलाएका पुराना नेता पौडेलले १५९ मत मात्र प्राप्त गरेका छन् ।

सबैभन्दा बढि मत बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापा स्वस्तीले १०८६ पाएका छन् । दोस्रो मत परमेश्वर घिमिरेले ९२२, तेस्रो मत एमाले जिल्ला अध्यक्ष इश्वरमणी राउतले ७८६ मत पाएका छन् । प्रदेश सांसद विमल कार्कीले चौथो मत ७८५ पाएका छन् भने कुशलबाबु बस्नेतले ६५१ र कालु लामाले ६२४ मत पाएका हुन् । लामा नै खुल्लातर्फको कान्छो मत प्राप्त गर्ने विजयी हुन् ।
दुई समावेशी (महिला) प्रतिनिधिका लागि १० जना चुनावमा उत्रिएकोमा पहिलो मत ८०० लिएर सृजना दनुवार र ७२१ मतका साथ महेश्वरी राई विजयी बनेका हुन् ।