
पूर्णपुष्टि, असार २० । इटहरीस्थित इष्ट टु वेष्ट ह्युमन रिसोर्स हस्पिटालिटी एण्ड ट्रेनिङ सेन्टरले युरोपका विभिन्न देशमा पठाउने प्रलोभन देखाएर करिब ३०० युवाबाट ८ करोड रुपैयाँ ठगी गरेको खुलासा भएको छ। कम्पनीले माल्टा, पोल्यान्ड, सर्बिया लगायतका देशमा पठाउने भन्दै प्रति व्यक्ति ४० हजारदेखि ४ लाख रुपैयाँसम्म असुल गरेको पाइएको छ।
कम्पनी रजिस्ट्रारको कार्यालयमा २०८० साउन १५ मा दर्ता भएको यो कम्पनी वैदेशिक रोजगार विभागमा दर्ता नभएको खुलेको छ। कम्पनीका सञ्चालकहरू फरार रहेका छन्। इटहरी शाखा प्रमुख विक्रम बराइली भनिने बलबहादुर विश्वकर्मा दुबईमा लुकेको आरोप छ।
उनले आफ्ना छोरा अमित बराइली, राजुकमार गजमेरसहित संलग्नतामा इटहरीको शाखाबाट तीन सय युवालाई ठगी गरेको पाइएको हो । २६० जनाले वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन्। विभागले मुद्दा दर्ता गरी सञ्चालकहरू विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। श्रम तथा रोजगार कार्यालय विराटनगरले इटहरीमा रहेको शाखा कार्यालय सिल गरेको छ।
कम्पनीले गत वर्षदेखि नै पैसा उठाउँदै आएको र नगद तथा विभिन्न बैंक खातामार्फत रकम संकलन गरेको पाइएको छ। पीडितहरूले जिल्ला प्रशासन कार्यालय सुनसरीमा समेत उजुरी दिएका थिए।रोचक कुरा के छ भने उक्त कम्पनीको उद्घाटनमा चलचित्र अभिनेता राजेश हमाललाई बोलाइएको थियो, जसको कारण धेरै युवाहरू विश्वासमा परेका थिए। पीडितहरूले श्रम मन्त्रालयमा समेत गुनासो गरेका छन्। विभागका अधिकारीहरूले प्राथमिकताका साथ अनुसन्धान अगाडि बढाइरहेको बताएका छन्।

