Monday, April 20News That Matters

राष्ट्रिय जनगणना २०७८ को तयारी अन्तिम चरणमा

पूर्णपुष्टि, कार्तिक १४
राष्ट्रिय जनगणना २०७८ को तयारी अन्तिम चरणमा पुगेको छ । केन्दीय तथ्यांक विभागका अनुसार घरघरमा गएर विरण संकलन गर्ने गणकका लागि शनिबारबाट अन्तिम चरणको तालिम शुरु भएको छ ।

७७ वटै जिल्लाका ३४९ वटा जनगणना कार्यालयले गणकका लागि अन्तिम चरणको तालिम शुरु गरेको विभागले जनाएको छ । देशभर जनगणना कात्तिक २५ बाट शुरु हुनेछ । जनगणनाको काम मंसिर ९ गते पूरा हुनेछ । कुल ३९ हजार गणक देशैभर खटिनेछन् । गणकका लागि तालिम १३ कात्तिकबाट १६ कात्तिकसम्म चल्नेछ । ट्याब प्रयोग हुने काठमाडौंमा भने १७ गतेसम्म गणकको तालिम चल्ने विभागले जानकारी गराएको छ ।
तालिममा जनगणना क्षेत्रको पहिचान, सही तथ्यांक ल्याउन गणकले अपनाउनु पर्ने सावधानी, उत्तरदातासँग गर्नुपर्ने व्यवहार, तथ्यांकको गोपनीयता कायम राख्ने विषयमा जानकारी गराइने भएको छ । गणकको सानो गल्तीले तथ्यांकको विश्वसनीयतामा प्रश्न उठ्न सक्ने भन्दै गणक बढी नै गम्भीर हुनुपर्ने भन्दै तालिम सञ्चालन शुरु गरिएको हो । गणकले स्थलगत काममा गल्ती नगरुन् भने कक्षागत रुपमा अभ्यास समेत गराइने भएको छ ।