पूर्णपुष्टि, पुष ५ गते ।
पर्सा राष्ट्रिय निकुञ्ज भित्र सिकार खेल्न गएका ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ का झापस दास थारु, अकुअनिया टोलका नवराज बस्नेत, काभ्रे घर भइ हाल सखुवाप्रसौनी १ मै बस्ने दामोदर अधिकारी, वडा नम्बर १ खजुरिया निवासी विशाल सहनी र काभ्रेको नासिक गाविस ६ का मालदोङ्ग तामाङ रहेका छन् ।
निकुञ्ज अन्तर्गत पर्ने पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ अकुअनियास्थित जंगलबाट उनिहरुलाई वन संरक्षण टोलीले पक्राउ गरेको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सुर्य खड्काले जानकारी दिए ।
उनिहरुको साथबाट टाउकोमा गोली लागेको अवस्थामा मृत पोथी जरायो, टाउको र सिङ मात्रै बाँकी रहेको भाले जरायो शिकार गर्न प्रयोग भएका बा ५ त ७८०५ र प्रदेश २ ०२–०३–००१ च ३०९७ नम्बरका गाडी, १२ बोरको भरुवा बन्दुक १ थान, १२ राउण्ड गोली, पाँच थान मोबाइल र नगद दुई लाख ९० हजार ६३० रुपैयाँ नगद बरामद भएको खड्काले बताए । उनिहरु माथि आवश्यक थप अनुसन्धान भईरहेको छ ।
