Thursday, April 23News That Matters

रास्वपाद्वारा निलम्बित महामन्त्री ढकालको प्रतिवेदन खारेज, ‘व्यक्तिगत कुण्ठाको अभिव्यक्ति’ भन्दै अस्वीकार

पूर्णपुष्टि, असार २१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना निलम्बित महामन्त्री मुकुल ढकालद्वारा तयार पारिएको समीक्षा प्रतिवेदनलाई अस्वीकार गरेको छ। ३८ जिल्ला भ्रमण पश्चात तयार पारिएको यो प्रतिवेदन बुधबार पार्टीको केन्द्रीय समिति बैठकमा पेश गरिएको थियो।

पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले प्रतिवेदनलाई ‘व्यक्तिगत कुण्ठाको अभिव्यक्ति भन्दै पार्टीले यसको स्वामित्व नलिने बताए। उक्त प्रतिवेदनमा पार्टी सभापति रवि लामिछानेको कार्यशैलीमाथि प्रश्न उठाइएको छ।

रास्वपाका अन्य नेताहरूले पनि ढकालको प्रतिवेदनलाई एकपक्षीय र तथ्यहीन भएको आरोप लगाएका छन्। उनीहरूका अनुसार प्रतिवेदनमा पार्टीका सकारात्मक पक्षहरू समावेश गरिएको छैन। उल्लेखनीय छ, ढकाललाई पार्टीले एक हप्ताका लागि महामन्त्री पदबाट निलम्बन गरेको छ। यद्यपि

उनले स्पष्टीकरण बुझाएको दाबी गरेका छन्, तर पार्टीले त्यसलाई वेवास्ता गरेको उनको आरोप छ। पार्टी स्रोतका अनुसार ढकाल सोही पदमा फर्कने सम्भावना न्यून रहेको जनाइएको छ। यो घटनाक्रमले रास्वपा भित्रको आन्तरिक द्वन्द्व र मतभेदलाई उजागर गरेको छ, जसले पार्टीको भविष्यमा प्रभाव पार्न सक्ने देखिन्छ।