Wednesday, April 29News That Matters

रास्वपा र राप्रपाद्वारा संसद बैठक बहिष्कार

पूर्णपुष्टि, असार ९ ।  भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति वा न्यायिक आयोग गठनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सोमबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा रास्वपाका सांसद शिव नेपालीले भिजिट भिसा प्रकरणलाई “जघन्य संगठित र अन्तर्राष्ट्रिय अपराध” भन्दै तत्कालीन छानबिनको माग गरे । सांसद नेपालीले सरकार परिवर्तन भए पनि मानव तस्करीको गतिविधि निरन्तर जारी रहेको बताए । “सरकार फेरिन्छन्, मन्त्री फेरिन्छन् तर मानव तस्कर सधैं उन्मुक्त किन हुन्छन् ?” उनले प्रश्न गरे ।

उनका अनुसार भिजिट भिसाको नाममा नेपालीहरूलाई विदेशमा बेच्ने यो र्‍याकेट नेपालभित्रै बसेर राज्यको संरक्षणमा संचालित भइरहेको छ । “दुःखको कुरा अपराधीलाई कारबाही गर्नुको सट्टा राज्यले बचाउन खोजिरहेको छ,” उनले आक्रोश व्यक्त गरे ।

रास्वपाका सांसदले सरकारमा रहेकाहरूको संरक्षणमा भिजिट भिसामार्फत मानव तस्करी गर्नेहरूले काम गरिरहेको आशंका व्यक्त गरे । “मानव तस्करीको अपराधमा सरकार किन मौन छ? उच्चस्तरीय संसदीय वा न्यायिक समिति गठनको माग किन बेवास्ता भइरहेको छ ?” उनले प्रश्न गरे । उनले गृहमन्त्रीले तोकेको नैतिक मापदण्डमा आफैं असफल भएको आरोप पनि लगाए ।

रास्वपाले सरकारमाथि आवाज दबाएर शक्ति प्रदर्शन गरिरहेको आरोप लगाएको छ । सांसद नेपालीले भने, “सरकारले हाम्रो आवाज दबाएर शक्ति देखाउने खेल खेल्न बन्द गर्नुपर्छ ।” पार्टीले मुख्य दुई ठूला दलको सरकारको मौनताप्रति असन्तुष्टि जनाउँदै यस्तो गम्भीर मुद्दामा पनि सरकार निष्क्रिय रहेको बताएको छ ।

रास्वपाले भिजिट भिसा प्रकरणको पूर्ण सत्यतथ्य उजागर गर्न उच्चस्तरीय छानबिन समिति वा न्यायिक आयोग गठन गर्न दोहोर्‍याएको छ । यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि सोमबारको बैठक बहिष्कार गरेको छ ।