
पूर्णपुष्टि, साउन २४ । रुस-युक्रेन युद्धमा मारिएका पाँच जना नेपालीको अस्थि नेपाल आइपुगेको छ। रुसी सेनामा भर्ना भएर युद्धमा संलग्न रहेका कास्कीका देवन राई, स्याङ्जाका पितम कार्की, स्याङ्जाका हरिप्रसाद अर्याल, स्याङ्जाका गणेश श्रेष्ठ र महोत्तरीका अनितकुमार शाहको अस्थि नेपाल ल्याइएको हो।
यो घटना रुस-युक्रेन युद्धमा मारिएका नेपालीहरूको अस्थि नेपाल आइपुग्ने पहिलो घटना हो। बुधबार रुसबाट आएको मृतकको अस्थि मृतकका परिवारले बुझेका छन्। बिहीबार सामूहिक रुपमा अस्थि पशुपतिको आर्यघाटमा सम्मान गरिएको रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानकी संयोजक कृतु भण्डारीले जानकारी दिए। नेपाल सरकारले रुसी सेनामा भर्ना भएका ३४ जनाको मृत्यु भएको पुष्टि गरेको छ। तर मृतक परिवारले यो संख्या धेरै भएको बताएका छन्।
