Sunday, June 28News That Matters

लकडाउनमा ७५ किमि कालो पत्रे र २१ वटा पुल निर्माण सम्पन्न

पूर्णपुष्टि, जेठ २६ गते । 

लकडाउनको समयमा सडक विभागले करिब ७५ किलोमिटर भन्दा बढी सडक कालापत्रे गरेको छ । गत चैत ११ देखि लकडाउन भएपछि सुरुआतका केही दिनमा विकास निर्माणका काम रोकिएको थियो ।

सतर्कता अपनाउँदै सडक निर्माण र मर्मत गर्ने योजना बनाएर विभागले काम थालेको थियो । यसबीचमा विभागले करिब ४० किलोमिटर खण्डको ग्राभलिङको काम पनि गरेको विभागले जनाएको छ  । लकडाउनको अवधिमा करिब ५२ किलोमिटर सडकखण्डमा कालोपत्रे ओभर–ले गर्ने काम पनि भएको विभागले जनाएको छ  ।

विभागले ‘रोड मार्किङ’ र केही पुलहरु निर्माणको काम समेत जारी राखेको थियो । वर्षमा क्षति पुग्नसक्ने आकलन गरिएका निर्माणाधीन पुलको काम नरोक्ने नीति अन्तरगत लकडाउनको अवधिमा ठेकेदारहरुलाई विभिले विभिन्न किसिमबाट सहजीकरण गरेको जनाईएको छ ।

लकडाउनपछि अन्तिम चरणमा पुगेका २१ वटा पुलको निर्माण सकिएको छ भने २ सय ४८ पुलमा निरन्तर काम भएको थियो । लकडाउनमा विकासको काम गर्नै नसकिने मनस्थिति बनेका बेला सबैपक्षको सहयोग लिएर अधिकतम् प्रयास गरिएको छ ।

लकडाउनमा कतिपय काम जारी राखेपनि विभागले लक्ष्यअनुसार काम र खर्च भने गर्न सकेको छैन । सवारीको चाप घटेपनि खटिने सवारीको लागि पासको व्यवस्थापन गर्न, आवश्यक मजदुररुको व्यवस्थापन गर्न र लकडाउनमा क्रसर, ट्रक, ट्रिपरहरु चल्दा स्थानीयले आपत्ति जनाएपछि निर्माण सामग्रीको व्यवस्थापन गर्न निकै अप्ठेरो परेको जनाईएको छ ।

उपलब्ध स्रोत साधनको उपयोग गरेर सम्भाब्य सडकहरुमा मर्मतको काम वर्ष अगावै गरिएको विभागले जनाएको छ । अहिले पनि समस्याका बावजुद कामदारहरुबीच भौतिक तथा समाजिक दूरी कायम राख्दै र सुरक्षा उपाय अपनाउँदै काम भइरहेको विभागले जनाएको छ ।

विभागले लकडाउनमा मेसिनको बढी प्रयोग हुने आयोजनाहरुमा काम गरिरहेको छ । सडक खाली भएको मौका पारेर गरिएका मर्मतलगायतका काम टिकाउ हुने विभागको तर्क छ ।

लकडाउनको समयमा काठमाडौं सडक डिभिजन कार्यालयले मात्रै १५ किलोमिटर सडकमा ओभर–लेको काम गरेको छ । ५ किलोमिटर नयाँ सडकमा कालोपत्रे गरिएको छ । २० किलोमिटर सडकमा ट्राफिक चिन्हरुको मार्किङको काम गरिएको छ ।

यस वर्ष डिभिजन अन्तरगत मर्मतको काममा राखिएको लक्ष्य लगभग पुरा भएको छ । अन्तरगत ४१ किलोमिटर सडक मर्मतको काम गरिएको डिभिजनले जनाएको छ ।

अब टेकुमा ३–४ सय मिटर सडकमा काम बाँकी छ । निर्माण सामग्रीको उपलब्धताको अभावले गर्दा चाबहिल–गौशाला खण्डमा अपेक्षाअनुसार काम नभएको जनाईएको छ । वर्षा अगावै बाटोमा कालोपत्रे गरिसक्ने लक्ष्य राखिएको छ ।