
मोरङ, भाद्र २७
मोरङको विभिन्न स्थानबाट लागुऔषध गाँजा र ट्याब्लेट सहित चार जना पक्राउ परेका छन् ।
हिजो दिउँसो ५ बजे ईलाका प्रहरी कार्यालय केरावारीबाट खटिएको प्रहरी टोलीले लागुऔषध गाँजा सहित ३ जनालाई पक्राउ गरेको हो । गस्तिमा खटिएको प्रहरी टोलीले केरावारी–१० गैह्रीगाउमा पैदल हिडिरहेका धरान–१५ का १९ बर्षीय अजय तामाङ, २२ बर्षीय च्यामन राई र लेटाङ नगरपालिका–७ का १८ बर्षीय रोहन तामाङलाई चेकजाँच गर्दा उनीहरुको साथबाट १ केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
त्यस्तै ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले लागुऔषध ट्याब्लेट सहित १ भारतिय नागरीकलाई पक्राउ गरेको छ । हिजो दिउँसो ४ बजे भारत पिप्राहा बिष्णुपुर बस्ने १८ बर्षीय दिपेश यादवलाई ७५ एम्पुल डाईजेपाम सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
विआर–३८ एच ६३५९ नम्बरको मोटरसाईकलमा सवार रहेका यादवलाई चेकजाँच गर्दा मोटरसाईकलको सिट मुनी लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
लागुऔषध सहित पक्राउ परेका चारै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

