
उदयपुर, फाल्गुन ६ गते ।
उदयपुरको बेलका नगरपालिका–९ बाट लागुऔषध बेचबिखनमा संग्लग्न तीन जनालाई पक्राउ गरिएको छ । स्थानीय आकाश तिम्सिनाको घरबाट लागुऔषध बेचबिखन भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटेका प्रहरी टोलीले पक्राउ गरेको हो ।
घरधनी ३५ बर्षीय आकाश तिम्सिना, बेनपा–१ निबासी ३२ बर्षीय बिकास बस्नेत र बेनपा–१३ निबासी ३८ बर्षीय प्रणय निरौलालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट डाईजोल्याव ३ एम्पुल, लेगेसिक ४ एम्पुल, फेनारागन ४ एम्पुल, डाईलक्स डिसी २ बोतल, नाईट्राभेट ११ ट्याब्लेट, स्पास्मोप्रोक्सिवन ५९ ट्याब्लेट, गाँजा ३ सय ग्राम, नगद १५ हजार रुपैयाँ, मिनिल्यापटप १ थान र बा १९ च ८४७४ नम्बरको कार समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनालाई ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखी थप अनुसन्धान भईरेको प्रहरीले जनाएको छ ।
