
पूर्णपुष्टि, असोज २१
महानगरीय ट्राफिक प्रहरी महाशाखाले दशैँ, तिहार, छठ सुरक्षा योजना ल्याउने तयारी गरेको छ ।
ट्राफिक व्यवस्थापन र स्वास्थ्य मापदण्डको विषयलाई केन्द्रमा राखेर विशेष सुरक्षा योजना ल्याउन लागिएको महाशाखाले जनाएको छ ।
चाडपर्वको समयमा काठमाण्डौ बाहिर जाने यात्रुलाई भिडभाड हुन नदिने, टिकट किनबेचमा ठगी हुन नदिने, दुर्व्यवहार रोक्ने लगायतका उदेश्यसहित ट्राफिक प्रहरी महाशाखाले गृहकार्य गरिरहेको जनाएको छ ।
त्यस्तै ट्राफिक प्रहरीले लामो दूरीको गाडीमा दुई जना चालक राखिएको छ कि छैन भनेर अनुगमन गर्ने भएको छ । नागढुंगामा राखिएको एप्समार्फत चालक परिवर्तन गरिएको छ कि छैन भनेर हेरिने महाशाखाले जनाएको छ । गत वर्षदेखि अहिलेसम्म दुई जना चालक नराख्ने पाँच सय गाडीलाई कारबाही गरिएको छ ।
त्यस्तै महाशाखाले काठमाण्डौमा विभिन्न १४ ठाउँमा हेल्प डेस्क राख्ने भएको छ । यसैबीच, पछिल्लो हप्ता काठमाण्डौबाट बाहिरिनेको संख्या बढेको छ । केही दिनअघि दैनिक १ हजारको संख्यामा बढिरहेको यात्रुको संख्या हिजो एकैदिन ६ हजार भन्दा धेरै बढेको महाशाखाले जनाएको छ ।
जोर बिजोरको कार्यन्वयन नगर्ने गाडीहरु दैनिक १५ सयको हाराहारीमा कारबाहीमा परिरहेका छन् । त्यस्तै भिडभाड गर्ने, स्वास्थ्यका मापदण्ड पालना नगर्ने गाडीहरु हरेक दिन ७ देखि १५ सयको हाराहारीमा कारबाहीमा परिरहेको महाशाखाले जनाएको छ ।
महाशाखाले बढि भाडा लिनेलाई पनि कारबाही गरिरहेको छ । हिजो मात्रै बढि भाडा लिने ५ जनालाई पक्राउ गरि कारबाही पक्रिया अघि बढाइएको महाशाखाले जनाएको छ ।
महाशाखाले कसैलाई केही समस्या भए १०३ मा फोन गर्न सबैमा आग्रहसमेत गरेको छ ।

