Friday, May 22News That Matters

लिदी पहिरोमा वेपत्ता भएकामध्ये १६ जनाको शव भेटियो

पूर्णपुष्टि, साउन ३१

सिन्धुपाल्चोकको लिदीमा पहिरोमा परि बेपत्ता भएकामध्ये १६ जनाको शव भेटिएको छ । जुगल गाउँपालिका–२ लिदीमा पहिरोमा परेर हराइरहेकामध्ये आज थप ५ जनाको शव भेटिएसँगै मृत्यु हुनेकोे संख्या १६ पुगेको हो । आज जुगल गाउँपालिका–२ का १६ वर्षीय माइला पराङ दोङ, ३७ वर्षीया मेकमाई दोङ, ११ वर्षीया च्यांमा दोङ, ७ वर्षीया विमला दोङ र ७ महिनाका कविर दोङको शव भेटिएको प्रहरीले जनाएको छ ।

त्यस्तै हिजो ३६ वर्षीया टिकामायाँ दोङ, १४ वर्षीय छिरिङ दोङ, ८० वर्षीय जिते झाँक्री, ८ वर्षीय मिलन दोङ, ५ वर्षीय सानु दोङ, ७० वर्षीय जयबहादुर दोङ, ३० वर्षीया दावा लामु दोङ, ५ वर्षीया प्रिती दोङ र ५ महिनाकी तारा लामु दोङको शव भेटिएको थियो ।

पहिरोमा पुरिएर आज जीवितै उद्धार गरिएका दावा ग्याल्बो दोङको चौतारामा उपचार भैरहेको प्रहरीले जनाएको छ । ९ वर्षीय रुपबहादुर दोङ उपचारपछि घर फर्किएका छन् भने आज भेटिएका दावा ग्याल्बो दोङसहित ५ जनाको चौतारा र काठमाण्डौमा उपचार भैरहेको छ ।