
पूर्णपुष्टि, जेठ ७ गते ।
सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र सहितको नेपालको नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बुधबार नक्सा सार्वजनिक गरेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयबाट प्रस्तावित नेपालको अद्यावधिक नक्सा स्वीकृत गरेको थियो । नक्साले नेपालको उत्तरी, पूर्वीय, पश्चिमी र दक्षिणी अन्तर्राष्ट्रिय सीमासहित राजनीतिक र प्रशासनिक प्रबन्ध समेटेको छ ।
नक्सामा अन्तर्राष्ट्रिय सिमानाहरुमा खासगरी पश्चिम–उत्तरी क्षेत्रमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ । यो नक्सामा सङ्घीयता अनुरुप प्रदेश र पालिका पनि समेटिएको छ । अब यो नक्सा अनुसार निशान छाप, सरकारी कामकाजमा प्रयोग गर्ने नक्सा, विद्यालयका पाठ्यपुस्तकहरु सबै सार्वजनिक प्रयोगमा हुने नक्सा नै अद्यावधिक हुनेछ ।
यस नयाँ नक्सालाई संवैधानिक र कानुनी वैधता दिन सरकारले नेपालको संविधान, २०७२ को भाग ३ मा निशान परिवर्तनका लागि छिट्टै संविधान संशोधनसम्बन्धी विधेयक संसदमा दर्ता गराउने तयारी गरेको छ ।
गत जेठ २ गते सरकारले पेस गरेको नीति तथा कार्यक्रममा पनि सरकारले भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत भूभाग समेटेर नयाँ नक्सा जारी गर्ने घोषणा गरेको थियो ।
यसअघि भारतले नेपालको लिपुलेक जोडेर चीनको मानसरोवर जाने सडक बनाएपछि तीव्र आलोचना हुँदै आएको थियो ।
नेपाल सरकारले भारतको यो कदम खेदजनक भएको बताएको थियो र कुटनीतिक तवरले नै अगाडि बढ्न आग्रह गरेको थियो ।
