
पूर्णपुष्टि, असार ३ गते ।
लोकसेवामा नक्कली परीक्षार्थीको सेटिङ मिलाएको अभियोगमा कास्कीबाट एक शिक्षक पक्राउ परका छन् । जिल्लाको पोखरा–२४ कास्कीकोटका कालिका माविका उपप्रधानाध्यपकसमेत रहेका दीपेन्द्र बस्ताकोटीले लामो समयदेखि नक्कली परीक्षार्थी लगाएर परीक्षा दिने गरेको खुलेको छ । बस्ताकोटीले आफ्नै विद्यालयका विद्यार्थी लगाएर परीक्षा दिन लगाउने र उनले पनि आफै परीक्षा दिँदै आएको खुलेको हो ।
उनले लोकसेवा आयोगको परीक्षा दिन फाराम भरेका परीक्षार्थीसँग लाखौं रुपैयाँ लिने र आफ्ना विद्यार्थी लगाएर उनीहरुको परीक्षा दिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । गत १९ चैतमा हेटौंडामा भएको लोकसेवा आयोगको परीक्षामा नक्कली परीक्षार्थी फेला परेपछि अनुसन्धानका क्रममा बस्ताकोटी पक्राउ परका हुन् ।
१९ चैतमा सोही विद्यालयमा पढ्ने एक छात्रालाई उनले हाजिरी जवाफका लागि भनेर लगेका थिए । ‘काठमाडौं भनेर लैजानुभएको हो । त्यहाँबाट सरुवा भयो भनेर हेटौंडा लग्नुभयो । १९ चैतमा परीक्षा दिएर आएँ,’ उनले भनिन्, ‘हामी उही दिन फर्कियौँ । डेढ घण्टाको परीक्षा दिएको हो । त्यसपछि धेरै पटक परीक्षाको रिजल्ट मागेँ, दिनुभएन । परीक्षाको रिजल्ट सोधेपछि आउनै छोड्नुभयो ।’
बस्ताकोटी अहिले पुर्पक्षका लागि मकवानपुर कारागारमा थुनामा छन् । उनले एउटै सक्कली परीक्षार्थीबाट २० देखि ३० लाखसम्म लिने गरेको बताइएको छ । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
