Wednesday, June 17News That Matters

लोत्से मल लुटपाटमा संलग्न ४० जनामाथि अनुसन्धान सुरु

पूर्णपुष्टि, फागुन ६ गते । काठमाडौँ महानगरपालिका–२६ स्थित लोत्से मलमा फागुन १ गते तोडफोड गरी लुटपाट गर्ने तथा प्रहरीको सवारी साधन आगजनीमा संलग्न ४० जनालाई प्रहरीले पक्राउ गरेको छ । दुईवटा भ्यानमा आगजनी गरेको र लोत्से मल तोडफोड गरी लुटपाटमा संलग्न भएको आरोपमा उनिहरुलाई प्रहरीले शुक्रबार साझँ पक्राउ गरेको हो ।

यातायात मजदुरका नाममा आन्दोलनकारीले लोत्से मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसिडिसी मोबाइल प्रालि, डायमन्ड मोबाइल प्रालि र गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौँ सुपर मार्केट प्रालिमा तोडफोड गरी मोबाइल, चार्जर, रिचार्ज, एयरफोनलगायत सामग्री लुटपाट गरेका थिए । उनीहरुले प्रहरी वृत्त बालाजुको बा२झ १४४ नंको स्कार्पियो र बा१झ ७२२४ नंको गाडी जलाएका थिए भने बालाजु र माछापोखरी चोकको ट्राफिक आयल्यान्डमा क्षति पुर्याएको प्रहरीको आरोप छ । आन्दोलनकारीले बालाजु चोकको अस्थायी प्रहरी पोष्टमा समेत आगो लगाइएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले आगजानी र तोडफोडमा संलग्न २९ र मोबाइल लुटपाटमा संलग्न ११ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए । “प्रहरीको भ्यान आगजानी गर्ने र मल तोडफोड गरी चोरी गर्ने अन्य केही व्यक्तिको पहिचान भइरहेको छ, उनीहरुलाई पनि चाँडै नियन्त्रणमा लिन्छौँ”, प्रवक्ता रिजालले भने ।

नेपाल यातायात मजदुर सङ्घ, अखिल नेपाल यातायात मजदुर सङ्घ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्ठनलगायतको नेतृत्वमा आन्दोलन भएको. थियो । आन्दोलनले उघ्र रुप लिँदा यस्तो घटना घटेको हो । यस घटनामा संलग्न अधिकांश व्यक्ति चालक, सहचालक, विद्यार्थी र विभिन्न होटल तथा रेष्टुराँका कामदार छन् ।

रिजालका अनुसार लुटपाटमा संलग्नलाई मुलुकी अपराधसंहिता (ऐन), २०७४ परिच्छेद २० चोरी तथा डाँकासम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ । भने आगजानी तथा तोडफोड गर्नेलाई मुलुकी अपराधसंहिता (ऐन) को परिच्छेद २६ को दफा दुई सय ८५ बमोजिम आपराधिक उपद्रव गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको छ ।

सरकारले व्यवसायको सुरक्षा गर्न नसकेको भन्दै मलका सञ्चालक इञ्जिनियर दीपक कुँवरले गुनासो पोखेका छन् । मल महानगरपालिकासँग सम्झौता गरी सञ्चालन भएको बताउँदै व्यवसाय र व्यावसायीको सुरक्षा गर्नु राज्यको जिम्मेवारी भएको उनको भनाइ छ । मल तोडफोडबाट ६ करोड र मोबाईल लुटपाटबाट १५ करोडको क्षति भएको छ । यसको क्षतिपुर्ती कसले दिने भन्दै कुवरले प्रश्न समेत गरेका छन् । आन्दोलनकारीहरुले सटर फोडेर मोबाईल पसल लुटपाट गरेको भिडियोे सि.सि टिभिमा रेकर्ड भएको थियो भने सामाजिक सञ्जालमा भाईरल भएको थियो ।