
भदौ २३ गते ।
नेपालको हिमालपारिका जिल्ला भनेर चिनिएको मुस्ताङको लोमान्थाङसम्म वर्षामा पनि यातायात चल्ने भएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका छुसाङको मुस्ताङ गेटको कालीगण्डकी मोटरेबल पुल निर्माण सम्पन्न भएपछि यातायात संचालन हुने भएको हो ।
उक्त पुल निर्माण भएपछि काठमाडौँ, पोखरा, बेनीलगायतका ठाउँबाट सिधै लोमान्थाङ पुग्न सकिने भएको छ । कालीगण्डकीमा आएको बाढीले निर्माणाधीन पुललाई गत साउनमा क्षति पु¥याएपछि निर्माण अवधि लम्बिएको थियो ।
पुल निर्माण भएपछि तीन वटा ठूला मेसिन प्रयोग गरी डेढ हप्तामा पुलको दुईतर्फी ट्याक खोलिएको करिडोर सडक आयोजनाले जनाएको छ । उपल्लो मुस्ताङ जोड्ने कालीगण्डकी पुल सञ्चालनमा आएपछि कोरला नाका र उपल्लो मुस्ताङ जाने सवारीसाधनलाई सहज भएको यातायात व्यवसायीले बताएका छन् ।
मुस्ताङ गेटको पुल र लुप्रापान्डा खोलाको पुल बनेपनि कागबेनीको २५ मिटर लामो निर्माणाधीन पुलको निर्माण कार्यमा ढिलाइ भएको स्थानियहरुले बताएका छन् ।
७६ मिटर लम्बाई भएको पुलको चार करोड ७३ लाख लागतमा २०७१ सालबाट लोकल रोड ब्रिज प्रोग्राम एलआरबिपि कम्पनीले पुलको काम शुरु गरेको थियो ।
