
पूर्णपुष्टि, वैशाख २२ गते ।
वडा अध्यक्ष र सदस्य पदमा उम्मेदवार रहेका दुई जनामाथि धनुषामा हतियार प्रहार भएको छ । कमला नगरपालिका–१ मा नेकपा माओवादी केन्द्रबाट वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका सर्वदेव यादवका ७० वर्षीय बुवा चन्द्रनारायण यादव र नेकपा एमालेबाट वडा सदस्यमा उम्मेदवारी दिएका हरेराम मण्डलमाथि एकै समयमा आक्रमण भएको हो ।
घरमा सुतिरहेको बेला बुधबार राति एक समूहले चन्द्रनारायणमाथि धारिलो हतियारले आक्रमण गरेको उनका आफन्तले बताएका छन् । आक्रमणबाट घाइते भएका उनको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भईरहेको अस्पतालले जनाएको छ ।
गाउँकै राजकुमार यादव, बिन्देश्वर यादव, श्रीकिसुन यादव, शम्भु मण्डलसहितको समूहले रड, लाठी र खुकुरीले आक्रमण गरेको अध्यक्ष पदमा उम्मेवार रहेका यादवको भनाई छ ।
यस्तै, सोही वडामा नेकपा एमालेबाट वडा सदस्य पदमा उम्मेदवारी दिएका हरेराम मण्डलमाथि पनि आक्रमण भएको छ । आफ्नो घरमा सुतिरहेको अवस्थामा आएका व्यक्तिले आफूमाथि आक्रमण गरेको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार गराउन आएका मण्डलले बताए ।
धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीले घटनाको अनुसन्धान भइरहेको बताएका छन् ।
