Saturday, May 30News That Matters

वाह्रवर्षअघि विदेशिएका श्रीमान् घर सम्झेर फर्किएनन्, लास वा श्वास जे हुन्छ श्रीमती खोजिमा

पूर्णपुष्टि, कार्तिक ९ ।
बैदेशिक रोजगारीको सिलसिलामा वाह्रवर्षअघि मलेसिया गएका श्रीमान् सम्पर्कविहिन भएपछि श्रीमती खोजिमा छिन् । उदयपुरको लिम्चुङबुङ गाउँपालिका २ डुम्रेका केशब भनिने धनकुमार राई बैदेशिक रोजगारकै सिलसिलमा सम्पर्कविहिन भएपछि उनकी श्रीमती ज्ञानु राई श्रीमान्को खोजी रहेकी हुन् ।
श्रीमान् वाह्रवर्षअघि मलेसिया गएका थिए । ६ वर्षसम्म सामान्य सम्पर्कमा आएपछि त्यसयता पुरै सम्पर्क विच्छेदको अवस्थामा रहेको उनले बताइन् । श्रीमान्लाई विदेश पठाउने मान्छे र मेनपावरसम्म नचिनेकी उनलाई कहाँ र कसरी खोज्ने भन्ने समस्या छ ।

पिडा ब्यक्त गर्दै ज्ञानु राई

श्रीमान् विदेश जाँदाको ऋणको भार थेगिनसक्नु भैसकेको छ । उनी २०७१ सालमा सदरमुकाम झरेर त्रियुगा नगरपालिका ३ स्थित एक बोर्डिङमा कार्यालय सहयोगीको जागिर गरेर बालबच्चा पाल्दै आएकी छिन् । श्रीमान् सम्पर्कविहिन भइदिएपछि एकछोरा र एकछोरीको पालनपोषण शिक्षादिक्षामा ठूलो संघर्ष गर्न परेको छ । श्रीमान् विदेश जाँदा सानै रहेका बालबच्चाहरु अव हुर्कीबढी सकेका छन् ।
श्रीमान् मर्यो या बाँचेको छ, अहिले उनलाई अत्तोपत्तो हुनसकेको छैन । परिवारका अन्य सदस्य र आफन्तहरुलाई पनि केही थाहा हुन सकेको छैन । कि लास, कि श्वास जे भएपनि जानकारी पाउनको खातिर उनी विभिन्न ठाउँ, निकाय र मिडियाहरु धाइरहेकी छिन् ।

श्रीमान्ले अर्को विवाह गरेर कतै बसेको हुनसक्ने आशंका पनि उनको छ । सुरुमा सम्पर्क हुँदाको बेला बल्लतल्ल फेला परेको श्रीमान्को मोवाईन नम्बरमा महिला बोलेको कुरा उनको स्मरणमा छ । त्यसरी कतै विहे गरेर बसेकै भएपनि एकपटक सम्पर्कमा आएर गाउँमा भएको घरजग्गा र ब्यवहारको बारेमा छोराछोरीलाई जानकारी दिएमात्र पनि हुने उनको भनाइ छ । आफुलाई अरु केही नचाहिएको उनको भनाई छ ।