
पूर्णपुष्टि, असार १४
विदेशमा कोराना संक्रमणबाट निको हुने नेपालीको संख्या बढेको छ । विभिन्न देशमा २६ हजारभन्दा धेरै नेपाली संक्रमित भएकोमा १८ हजार ७ सय भन्दा धेरै निको भएको गैरआवासीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिले जनाएको छ ।
डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, माल्टा, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियम, हंङ्गकङ्ग, दक्षिण कोरिया, मलेसिया लगायतका १९ देशमा बस्ने नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएको जनाएको छ ।
त्यस्तै अघिल्लो हप्तासम्ममा विभिन्न १३ देशमा १ सय ३० जना नेपालीको कोरोनाका कारणले मृत्यु भएकोे छ ।
अहिलेसम्म बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीको कोरोनाको कारण मृत्यु भएको हो । तर गतको हप्ता भने नेपालीको कोरोनाको कारण मृत्यु भएको छैन ।
मध्यपूर्वका विभिन्न देशमा कोरोना संक्रमित नेपालीको संख्या बढिरहेको समितिले जनाएको छ । गत दुई हप्तामा मात्र संक्रमित नेपालीको संख्या ८ हजारभन्दा बढी थपिएको स्वास्थ्य समितिले जनाएको छ । अहिलेसम्म कतारमा कोरोना सङ्क्रमित भएकामध्ये २० प्रतिशत नेपाली प्रभावित भएका छन् ।
