Friday, April 17News That Matters

विद्यालयमा काम गर्दा आँखाको ज्योति गुमाएसँगै नरेन्द्रको खोसियो जागिर

पूर्णपुष्टि, असार १२ । उदयपुरको कटारी नगरपालिका–२ स्थित श्री मावि कल्याणपुरमा १९ वर्ष कार्यालय सहयोगी भएर काम गरेका स्थानीय नरेन्द्र धमलाले विद्यालयकै काममा खटिएका बेला आँखाको ज्योति गुमाउन पुगे । २०७८ सालमा आँखाको ज्योति गुमाएका धमलाले ८–९ पटक अप्रेसन गरे । तर, आखाँ ठिक नभएपछि उनको जागिर समेत खोसियो ।

नरेन्द्र धमलाले विद्यालय निर्माणको काम चलिरहेको बेला छतमा पानि हाल्ने क्रममा अकस्मात आखाँमा नराम्रो चोट लागेको सामाजिक संञ्जाल फेसबुक मार्फत बताएका छन् । धमलाको आखाँमा गहिरो चोट लागेपछि आफन्तले लहान आँखा अस्पताल लगेका थिए ।

श्रीमती मुना धमलाले उपचारको लागी काठमाण्डौँ तिलगंगा आँखा अस्पतालमा समेत लगिएको बताईन् । तर, धेरै खर्च गरेर ८–९ पटक अप्रेसन गर्दापनि श्रीमानको आँखाको ज्योति नफर्केको मुनाले बताईन् । श्रीमान्‌ले आँखाको ज्योति गुमाएपछि मुनाले नै विद्यालयमा कार्यालय सहयोगीको काम सुरु गरिन् । तर गत २८ वैशाखमा विद्यालय व्यवस्थापन समिति र केही शिक्षकले राजीनामा दिन लगाएको नरेन्द्रले गुनासो गरेका छन् ।

नरेन्द्रले फेसबुकमा लेखेका छन् ‘राजीनामा दिएपछि प्रक्रिया मिलाएर श्रीमतीको नाममा हुन्छ भन्ने प्रलोभन देखाएर राजीनामाको डेमो थमाए । मैले कसैको सहायताले राजीनामा लेखाएर दिएँ ।’ तर, राजीनामा दिएको भोलिपल्ट विद्यालयले चालाचाबी मागेको उनले बताए । मुनाले चाबी दिन इन्कार गरिन । विद्यालयमा ई–हाजिरीको व्यवस्था गरेपछि आफूलाई अफ्ठ्यारोमा पारेको उनले बताइन् ।

‘श्रीमान्‌ले आँखा गुमाएपछि मैले उहाँको ठाउँमा काम गर्न थालेको चार बर्ष भइसक्यो । मलाई काममा राख्ने भनेर श्रीमान्‌लाई राजीनामा दिन लगाएका हुन्’ मुनाले भनिन् । विद्यालय व्यवस्थापन समिति र प्रशासनले राजीनामा दिन बाध्य बनाएको नरेन्द्र दम्पतीको गुनासो छ ।

तर व्यवस्थापन समितिका अध्यक्ष भानु गिरी भने राजीनामा जबर्जस्ती दिन नलगाएको बताउँछन् । ‘नगरपालिकाको शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ई–हाजिरी अनिवार्य बनाईएको अध्यक्ष गिरीले बताए । यसका लागि सम्बन्धित कर्मचारी नियमित उपस्थित हुनुपर्छ । उहाँको घर टाढा भएकाले दैनिक आउन सक्नुहुन्न । त्यसैले राजीनामा दिनुभएको हो ।’ तर गिरीले नरेन्द्र परिवारको व्यवस्थापनका बारेमा पनि सोच्नुपर्ने बताए ।

धमलाको राजीनामापछि नगरपालिकाले कार्यालय सहयोगीका लागि नयाँ विज्ञापन निकाल्यो । सात जनाले आवेदन दिएका छन्, जसमा मुना धमला पनी एक हुन् । ‘श्रीमान्‌को सट्टामा मलाई नै काममा राख्ने भन्दै राजीनामा गराएका हुन् । अब अरूलाई कसरी राख्न सकिन्छ’ मुनाले भनिन् ।

नरेन्द्र धमलाले आफ्नो १९ वर्षको सेवाको उचित मूल्यांकन नभएको गुनासो गरेका छन् । ‘विद्यालयमा १९ वर्षसम्म इमानदारीका साथ सेवा गरेँ । कार्यस्थलमै दुर्घटनाको शिकार भएँ । तर कसैले मेरो सेवाको कदर गरेन । ममाथि प्रतिशोध साधिएको छ,’ उनले भने । कार्यालय सहयोगीका लागि आवेदन दिएकालाई बुझेर न्याय गरिदिन उनले आग्रह गरेका छन् । यस विवादका कारण गत शनिबार तोकिएको कार्यालय सहयोगीको परीक्षा स्थगित गरिएको छ । नगरपालिकाले विवाद समाधानका लागि १५ दिनको समय तोकेको छ ।

नगर प्रमुख राजेश चन्द्र श्रेष्ठले स्थानीय नेता र समाजसेवीहरूले यो विवाद मिलाउने प्रयास गरिरहेको बताएका छन् । ‘अन्य आवेदकहरूलाई पनि आग्रह गरेर समाधान खोज्ने प्रयास भइरहेको छ । त्यसैले परीक्षा तत्काल स्थगित गरिएको हो’ नगर प्रमुख श्रेष्ठले भने ।

धमला परिवार अझै पनि न्याय पाउने आशामा छन् । मुनाले भनिन्, ‘श्रीमान्‌ले विद्यालयको कामै गर्दा आँखा गुमाउनुभयो । म उहाँकै ठाउँमा काम गरिरहेकी छु । आशा गर्छु, सम्बन्धित निकायहरूले हाम्रो अवस्था बुझेर न्याय गर्नुहुनेछ ।’