
पूर्णपुष्टि, साउन १८ । विराटनगरमा सडक विस्तार र स्तरोन्नतिका कारण डुबानमा परेका घरहरूलाई ‘लिफ्टिङ प्रविधिÚ प्रयोग गरेर माथि उचाल्ने वा अन्यत्र सार्ने चलन बढेको छ। यस प्रविधिको प्रयोगले घरधनीहरूलाई आफ्नो सम्पत्ति जोगाउन मद्दत गरेको छ।
विराटनगर बसपार्कका दिनबन्धु गोयलले आफ्नो घरलाई लिफ्टिङ प्रविधि प्रयोग गरेर सडकको सतहसम्म उचालेका छन्। सडक स्तरोन्नति गर्दा घरको सतहभन्दा माथि सडक पुगेपछि सामान्य वर्षामा पनि उनको घर डुबानमा पर्न थालेको थियो। गोयलले आफ्नो घर पहिलेको सतहबाट झण्डै ४ फिट माथि उचालेका छन्।

उद्योगी राजेन्द्र राउतले आफ्नो दुई तले भवनलाई ५५ फिट टाढा सारेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्षसमेत रहेका राउतले नयाँ अस्पतालको संरचना निर्माणका लागि पुरानो भवन एक ठाउँबाट अर्को ठाउँ सारेको बताए। उनका अनुसार, यो प्रविधि नयाँ घर बनाउँदा लाग्ने खर्चको १०(१५ प्रतिशत लागतमै सम्पन्न गर्न सकिन्छ।
उद्योगी राकेश सुरानाले पनि सुनसरीको दुहबीमा रहेको आफ्नो एक तले भवनलाई साढे चार फिट माथि उचालेका छन्। सडक विस्तार गर्दा कार्यालय प्रयोजनका लागि बनाएको घर डुबानमा परेपछि लिफ्टिङ प्रयोग गरेर उठाएको उनले बताए। भारतीय एलबीएल हाउस लिफ्टिङका इन्जिनियर लालचन्दकुमार गुप्ताले यो प्रविधिलाई : जग टेक्नोलोजीु पनि भनिने बताए। उनका अनुसार नेपालमा एक सय भन्दा बढी घर उठाउने र सार्ने काम गरिसकिएको छ। यस प्रविधिमा घरको बेसको टाइप बिम संरचना काटेर गाडी उठाउन प्रयोग गर्ने जस्तो : जगु लगाएर ब्यालेन्स मिलाइन्छ। त्यसपछि पालैपालो जग घुमाएर घर माथि उठाइन्छ।
विराटनगर बजार क्षेत्रमा अधिकांश पुराना घर सडक सतहभन्दा तल रहेका छन्, जसले गर्दा बर्खामा डुबानको समस्या हुने गरेको छ। यस प्रविधिको प्रयोगले यस्ता समस्याहरूको समाधान गर्न मद्दत पुगेको छ। प्राविधिकहरूका अनुसार यो विधि जोखिमरहित छ र घर उचाल्नका लागि न्यूनतम दुई महिना लाग्छ।
