Wednesday, April 22News That Matters

कक्षा १२ को नतिजा सार्वजनिक, ५२.९१% उत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। शुक्रबार बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो। सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (अनुत्तीर्ण) भएका छन्।

गत वैशाख १४ गतेदेखि २४ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षामा चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी भएका थिए। बोर्डले पाँच हजार ५४२ विद्यालयका विद्यार्थीलाई एक हजार ५२६ परीक्षा केन्द्र मार्फत परीक्षा सञ्चालन गरेको थियो। उल्लेखनीय रूपमा जापानमा समेत एउटा परीक्षा केन्द्र रहेको थियो।

यस वर्ष बोर्डले पहिलो पटक स्वचालित छनोट प्रणालीको प्रयोग गरेर परीक्षा केन्द्र निर्धारण गरेको थियो। तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र बोर्डको प्राविधिक टोलीले ‘पाइलट प्रोजेक्ट’ को रूपमा सफ्टवेयर बनाई पहिलो पटक काठमाडौँ जिल्लाका परीक्षा केन्द्र स्वचालित विधिबाट छानिएको थियो। बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ अनुसार परीक्षा सञ्चालन गरेको र सोही आधारमा नतिजा प्रकाशन गरिएको जनाएको छ।