Wednesday, April 22News That Matters

उदयपुर र खोटाङलाई जोड्ने सुनकोशी नदीमाथि झोलुङ्गे पुल सञ्चालन

पूर्णपुष्टि, साउन १८ ।  उदयपुर र खोटाङ जिल्लालाई जोड्ने सुनकोशी नदीमाथि निर्माण गरिएको नयाँ झोलुङ्गे पुल सञ्चालनमा आएको छ। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित बाइटार र उदयपुरको कटारी नगरपालिका–१० सोरुङछबिसेको चिपटार जोड्ने यो पुलले दुई जिल्लाका बासिन्दालाई सहज आवागमनको सुविधा प्रदान गरेको छ।

प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय गाईघाटमार्फत प्राप्त रु तीन करोड ५० लाख लगानीमा यो पुल निर्माण गरिएको हो। पुल सञ्चालनमा आउनुअघि साबिकको डिकुवा–३ बाइटार र बलुई तथा साविकको डिकुवा–२ टारगाउँका बासिन्दाहरू जोखिम मोलेर डुङ्गाबाट नदी तर्दै आएका थिए।

नयाँ पुलको निर्माणसँगै स्थानीय बासिन्दाहरूले लामो समयदेखि भोग्दै आएको यातायातको समस्या समाधान भएको छ। यसका साथै पुलका दुवै किनारमा कच्ची सडक पनि निर्माण गरिएको छ, जसले गर्दा डिकुवाका सर्वसाधारणहरू थप लाभान्वित भएका छन्।