
पूर्णपुष्टि, भदौ १३ गते ।
विराटनगरमा विश्वचर्चित मोबाइल भिडियो गेम पब्जी ई–स्पोर्ट्स प्रतियोगिता हुने भएको छ । भदौ १८ गते ‘रेजरयाक्ट ई–स्पोर्ट्स’ ग्रुपको आयोजनामा विराटनगरको पाञ्चालीस्थित सगरमाथा पार्टी प्यालेसमा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा नेपालभरबाट १८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगितामा काठमाडौं, बुटवल, नेपालगन्ज, बिर्तामोड, पोखरा, दमक र विराटनगरका टोलीको सहभागिता रहने छ ।
एक टोलीमा चार जना खेलाडी रहने आयोजक समितिका सदस्य अनुराग क्षत्रीले जानकारी दिए । ‘एकदिवसीय प्रतियोगिता आयोजना गर्न लागिएको हो । यसमा आठ वटा खेल हुन्छ । एउटा खेल २५ मिनेटको हुन्छ’, उनले भने, ‘सबै टोली एकैठाउँमा बसेर स्क्वाड खेल खेल्छन् ।’ सहभागीमध्ये सर्वाधिक अंक ल्याउने टोलीले उपाधि जित्ने छ । प्रतियोगिताका विजेताले ५० हजार र उपविजेताले २० हजार नगद पुरस्कार पाउने छन् । यसैगरी तेस्रो हुने टोलीलाई १५ हजार र चौथोलाई १० हजार पुरस्कार प्रदान गरिने आयोजक समितिका सदस्य सन्दीप श्रेष्ठले जानकारी दिए । प्रतियोगिताका उत्कृष्ट खेलाडीले पाँच हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको आरटीडी ई–स्पोर्ट्स र सर्जिकल नुब युट्युब च्यानल र विभिन्न सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण हुनेछ ।
