Saturday, June 13News That Matters

वीरगञ्जको ठाकुरराम क्‍याम्पसमा आगजनी गरेको आरोपमा ३ विद्यार्थी नेता पक्राउ

पूर्णपुष्टि, फागुन २६ । वीरगञ्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको विषयमा विवाद उत्पन्नहुँदा आक्रोशित विद्यार्थीहरुले विद्यार्थी कल्याण तथा खेलकुद शाखामा आगजनी गरेका छन् ।

क्याम्पसमा आगजनी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका शिवम साह, अनेरास्ववियुका अभिषेक चौहान र सुजित गिरी रहेका छन् ।

पर्सा जिल्लाका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले ‘विद्यार्थी कल्याण तथा खेलकुद शाखाको झ्याल खुल्लै रहेको र प्लाष्टिकको बोतलमा प्रज्वलनशील पदार्थ सहित आगो लगाएर फालिदिएको बताए ।’ उनले भने ‘केहि कागजपत्र जलेको छ, आगो निभाउने क्रममा थप केहि भिजेको छ । बेलैमा आगो निभाइएकोले ठूलो क्षति हुन पाएन ।’

आगो नियन्त्रणका लागि वीरगञ्ज महानगरपालिकाको वारुण यन्त्र पनि ठाकुरराम बहुमुखी क्याम्पसमा पुगेको थियो । उनले पक्राउ परेकाहरुको आगजनीमा संलग्नता भए नभएको बारेमा अनुसन्धान भईरहेको समेत बताए ।

क्याम्पसका एक जना विद्यार्थी नेताका अनुसार निर्वाचन अधिकृतको कार्यालयले प्रारम्भिक मतदाता नामावली प्रकाशन गर्दा फर्जी नाम समावेश गरेपछि विवाद उत्पन्न भएको हो । झण्डै ८ सय विद्यार्थीको फर्जी नाम नामावलीमा समावेश भएको दावी विद्यार्थी संगठनका नेताहरुले गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले फागुन २१ गते १० हजार ६ सय २१ जनाको नामावली प्रकाशन गरेको थियो । त्यो प्रारम्भिक मतदाता नामावली भएको उनीहरुको भनाई छ । फागुन २५ गते दावी विरोध गर्ने क्रममा विद्यार्थी नेताहरुले मतदाता नामावलीमा नहुनुपर्ने विद्यार्थीको समेत नाम समावेश गरेको पत्ता लगाएका थिए । त्यसपछि विवाद उत्पन्न भएको कारण निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नामावली प्रकाशन गर्न सकिरहेको छैन ।

नेपाल विद्यार्थी संघ ठाकुरराम बहुमुखी क्याम्पस एकाई समितिका निवर्तमान एकाई सभापति मनोज साहले घटनाबारे छानवीन हुनुपर्ने, त्रुटि गर्ने कर्मचारीलाई कारबाही हुनुपर्ने र निष्पक्ष निर्वाचन हुनुपर्ने माग आफूहरुले राखेको बताए ।

निर्वाचन अधिकृत रोशन लामिछानेले सर्वदलीय बैठक मार्फत समस्या समाधान गर्ने प्रयास भइरहेको बताए । ‘ बीबीएस तेस्रो वर्षका विद्यार्थीहरुको नाम समावेश भएको विषयमा त्रुटि देखियो, निर्वाचन समितिले नै वदमाशी गरेको हो भनेर विद्यार्थीले आरोप समेत लगाए ।’ उनले भने ‘ तर त्यो अन्तिम नामावली थिएन, मानवीय त्रुटि देखिएको थियो, त्यसैले फागुन २५ गते अन्तिम नामावली प्रकाशन गरेनौं, राति अबेरसम्म बसेर सच्याइसकेका छौं । विद्यार्थी संगठनसँग छलफल गरेर मात्रै अन्तिम नामावली प्रकाशन गर्ने भनेर आज बैठक डाकेका हौं ।’

उनले विवाद समाधान नभएकोले शुक्रबार मनोनयन पत्र वितरण गर्ने कार्यक्रम समेत स्थगित गरिएको बताए । मतदाता नामावलीका बारेमा छानवीन गर्न छानवीन समिति बनाउने, छानवीन समितिलाई तीन दिन समय दिने, चैत ५ गतेको निर्वाचनलाई असर नपर्ने गरि निर्वाचन कार्य तालिका संसोधन गर्नेगरि छलफल अघि बढाइएको उनले बताए ।

नामावलीको त्रुटिमा छानबिन गर्न समिति गठन

मतदाता नमावलीमा देखिएको त्रुटिमा छानबिनका लागी ठाकुरराम बहुमुखी क्याम्पस शिक्षण शाखाका सह प्राध्यापक रघुनाथ प्रसाद चौरसियाको संयोजकत्वमा समिति गठन गरिएको छ ।

निर्वाचनमा सहभागी हुनका लागि दर्ता भएका ३५ वटा विद्यार्थी संघ, संगठन तथा समूहका प्रमुख, प्राध्यापक, कर्मचारीको वैचारिक संगठन, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनीधि सदस्य रहनेछन् । समितिले तीन दिन भित्र निर्वाचन अधिकृतको कार्यालयलाई प्रतिवेदन दिनेछ । त्यसैको आधारमा निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नामावली प्रकाशन गर्ने निर्णय भएको छ ।