Saturday, April 25News That Matters

संघीय सांसद बल्ल बोल्यो – विधिकाे शासन र संविधानप्रति दृढ

पूर्णपुष्टि/काठमाडाै‌, भदौ २७
संघीय संसदले पछिल्लो घटनाक्रमको बारेमा आज एक बक्तब्य जारी गरेको छ । बक्तब्यमा जेनजी आन्दोलनपछिको देशको विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधिनतालाई शिरोपर गर्दै संबैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपतिले पहिल गरिरहेको जनाइएको छ । विधिको शासन र संविधानबाट बाहिर जानुहुदैन भन्नेमा दृढ रहेको जनाइएको छ ।
वक्तब्यमा जेनजीको माग सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन अपिल गरिएको छ ।
जेनजी आन्दोलनको क्रममा ज्यान गुमाउने युवाहरु र कर्तब्य पालको क्रममा ज्यान गुमाउने सुरक्षाकर्मीहरुप्रति श्रद्धाञ्जली र परिवारजनप्रति समवेदना प्रकट गरिएको छ । साथै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामनासहित उपचारमा कमी हुन नदिन सम्बन्धीत निकायलाई आग्रह गरिएको छ ।
आन्दोलनको क्रममा भदौ २४ गते संघीय संसद भवन, संघीय संसद सचिवालय, विभिन्न सरकारी कार्यालयहरु, सरकारी तथा निजि आवासहरु, सञ्चारगृह, ब्यापारिक प्रतिष्ठान, सार्बजनिक सम्पत्ती एवम् एतिहासिक दस्तावेजहरु नष्ट हुनेगरी भएको आगजनी तथा तोडफोडले मर्माहत बनाएको जनाएको छ । संसद भवन, सचिवालय र देशभरको संरचनामा भएको आगजनीले अपुरणीय क्षती भएको जनाइएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालद्वारा हस्ताक्षरित बक्तब्य घटनापछिको पहिलो छ ।