
पूर्णपुष्टि, बैशाख १६
नेपालको कोरोना हस्पट भन्दै गएको बाँके जिल्लामा थप ८ जना संक्रमितले एकै दिन ज्यान गुमाएको छ ।
यो सँगै बाँकेमा कोरोना बाट ज्यान गुमाउनेको संख्या १०७ पुगेको छ । बाँकेका ६ जना तथा कैलाली र बर्दियाका एक–एकजना गरी ८ जनाको मृत्यु भएको हो ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बाँकेको नेपालगञ्ज–१३ का ५८ वर्षीय पुरुष र कोहलपुर नगरपालिका–११ की ४३ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको बाँकेका फोकल पर्सन तेज ओलीले बताउनुभयो ।
५८ वर्षीय पुरुषमा वैशाख १२ गते कोरोना संक्रमण पुष्टि भएकोमा त्यसको भोलिपल्ट उनी अस्पताल भर्ना भएका थिए । उनको उपचारको क्रममा बुधबार राति ८ः५५ बजे मृत्यु भएको हो ।
यसैगरी ४३ वर्षीया महिलाको बुधबार संक्रमण पुष्टि भएकोमा उपचारको क्रममा सोही दिन राति ९ बजे मृत्यु भएको हो ।
यसैगरी भेरी अस्पताल नेपालगञ्जमा खजुरा गाउँपालिका–२ बाँकेकी ६७ वर्षीया महिलाको आज विहान ८ बजे मृत्यु भएको छ । भेरी अस्पतालमै कैलालीको लम्कीचुहा नगरपालिका–१ का ४३ वर्षीय पुरुषको पनि आज बिहान ७ः५० बजे मृत्यु भएको छ ।
नेपालगञ्ज–१४ का ६० वर्षीय, नेपालगञ्ज–९ का ४२ वर्षीय, नेपालगञ्ज–५ का ५५ वर्षीय पुरुष र बर्दियाको बढैयाताल गाउँपालिका–८ का ३२ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ओलीले जानकारी दिनुभयो ।
ओलीका अनुसार नेपालगञ्जका ६० वर्षीय पुरुषको अस्पताल भर्ना भएकै दिन बुधबार राति ९ बजे मृत्यु भएको हो ।
बाँकेकै ४२ वर्षीय पुरुषको पनि बुधबार राति १० बजे मृत्यु भएको हो । बाँकेकै ५५ वर्षीय पुरुषको सबै प्रकारका औषधि प्रयोग गरी उपचार थालिए पनि उनको बिहीबार बिहान ५ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
बर्दियाका ३२ वर्षीय पुरुषको बुधबार भेरी अस्पतालमा भर्ना भएका उनको बिहीबार बिहान १ः३० बजे उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
