Friday, May 15News That Matters

सदरमुकाम गाईघाट क्षेत्रका सिसि क्यामेरा मर्मत–सम्भार नहुँदा सुरक्षा चुनौती बढ्यो

पूर्णपुष्टि, फागुन ३ ।
जिल्लाको मुख्य संवेदनशील ठाउँ सदरमुकाम गाईघाट बजार क्षेत्रमा आपराधिक गतिविधिको निगरानी सिसि क्यामेराबाट हुदै आएकोमा मर्मत–सम्भारको कार्य हुन नसक्दा हाल बन्द छ । यसले शान्ति, सुरक्षामा चुनौती थपेको छ भने सर्बसाधारण असुरक्षित महशुस गर्न थालेका छन् ।
त्रियुगा नगरपालिका, त्रियुगा उद्योग वाणिज्य संघ गाईघाट र जिल्ला प्रहरी कार्यालय उदयपुरको सहकार्यमा त्रियुगा नगरपालिकाको गाईघाट बजार क्षेत्र र आसपासमा हुनसक्ने आपराधिक गतिविधि निगरानीको उद्देश्यले सिसि क्यामेराहरु जडान भएपनि सोको मर्मत–सम्भार हुन नसकेको हो ।
२०७५ सालमा बजारको मुख्य चौक तथा आसपासमा ११ वटा क्यामेरा जडान भएकोमा एकवटा बाहेक सबै विग्रेको अवस्थामा छन् । २०७६ सालमा बजार क्षेत्र भन्दा अझ परको क्षेत्रहरु समेटेरे थप २२ वटा जडान भएका थिए । त्यसमध्ये ६ वटा मात्र चालु छन् । बाँकी सबै विग्रेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरको जानकारी अनुसार करिब ८० प्रतिशत सिसि क्यामेरा विग्रेको अवस्थामा छन् । ३३ वटा क्यामेराहरु मध्ये ७ वटा मात्र चालु अवस्थामा छन् । बाँकी २६ वटा बेचालु अवस्थामा छन् ।
सिसि क्यामेरा विद्युतीय प्रविधि भएकाले बेलाबेला मर्मत–सम्भारको आवश्यकता पर्दछ । घाम, पानी, हावा–हुण्डरी, असिना जस्ता प्राकृतिक कुराले पनि विग्रन सक्दछ साथै कतिपय अवस्थमा विद्युत सर्ट हुने, मेसिनमा खराबी जस्ता कुराले पनि विग्रने गर्दछ । यी कुरालाई मध्येनजर गरेर जडान गर्ने निकायहरुले मर्मत–सम्भारको ब्यवस्था गर्नुपर्नेमा त्यसो गरेको पाइएन । सिसि क्यामेराको लगानीकर्ता र जडान गरिदिने संस्थाबीच मर्मत–सम्भारको सम्झौता हुनेगर्छ, त्यो अनुरुपको काम पनि भएको छैन । गाईघाट बजारको केही क्यामेराहरु सडक मर्मत तथा निर्माणको क्रममा निकाएकोमा अझ जडान भएको छैन ।
अहिले मुख्य–मुख्य ठाउँ र विशेष सम्बेदनशील ठाउँहरुकै क्यामेराहरु चालु अवस्थामा नरहेको गुनासो स्थानीयहरुको छ । बजार क्षेत्र अलवा त्रियुगा बसपार्क, बोक्से चौक, बजारसंग जोडिने विभिन्न सडकको नाकाहरुमा सिसि क्यामेरा जडान भएका छन् । तर, जडान भएपछि आवश्यक मर्मत–सम्भार नहुँदा वेकाम बनेका छन् ।
बजार क्षेत्रमा ब्यापार, ब्यवसायको सुरक्षा तथा आपराधिक गतिविधि निगरानीको उद्देश्यले त्रियुगा उद्योग वाणिज्य संघको पहलमा त्रियुगा नगरपालिकाको मुख्य लगानी तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा सिसि क्यामेरा जडान भएका थिए ।
सिसि क्यामेराको नियन्त्रण तथा निगरानीको जिम्मा जिल्ला प्रहरीलाई दिइएको छ । अधिकांश क्यामेरा बेचालु अवस्थामा रहेकाले सोको नियन्त्रण तथा आपराधिक गतिविधिको निगरानी गर्न प्रहरीलाई समस्या परेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवम् प्रहरी नायव उपरिक्षक वेदप्रसाद गौतमका अनुसार आपराधिक गतिविधिको निगरानीमा २४ सैं घण्टा प्रहरीको नजर सबैतिर नपुग्ने हुँदा सम्बेदनशील ठाउँ र नाकाहरुमा सिसि क्यामेराको जरुरी पर्दछ । सिसि क्यामेराबाट रातीको गतिविधि तथा अपराध गरेर भागेको सवारी साधनहरु, मानिसहरु पत्ता लगाउन ठुलो मद्दत पुग्दछ । प्रहरी अनुसन्धानको आधुनिक शैलीबाट प्रविधितर्फ फड्को मारिसकेको अहिलेको अवस्थामा प्रहरीलाई सिसि क्यामेरा अपरिहार्य बनेको छ । विगतमा सिसि क्यामेराको मद्दतले हत्याद्ेखि चोरीसम्मका थुप्रै घटनाहरुको सफल अनुसन्धान र अपराधी पत्ता लागेको उदाहरण छन् तर, पछिल्लो समय सिसि क्यामेराहरु विग्रिएसंगै प्रहरीको आपराधिक गतिविधिमा निगरानी तथा अनुसन्धान प्रभावकारी देखिएको छैन । केही समयअघि त्रिनपा ९ राजाबासको दुर्घटनाको दोषी र केही दिनअघि गाईघाटको पुरानो सब्जी बजारमा घरमै राखिएको स्कारपियो र मोटरसाईकलमा आगजनीको अपराधी पत्ता लाग्न सकेको छैन । जडान भएका सिसि क्यामेराहरु चालु अवस्थामा रहेको भए तत्कालै यी घटनाको प्रभावकारी अनुसन्धान र अपराधी पत्ता लगाउन प्रहरीलाई सजिलो हुने प्रनाउ गौतमले बताउनुभयो ।
सिसि क्यामेराको मर्मत–सम्भारप्रति सबैको चासो भएपनि प्रभावकारी पहल भने कसैको देखिएको छैन । जिल्ला प्रहरीले सिसि क्यामेरा विग्रेको सम्बन्धी तालुक अड्डालाई जानकारी दिइसकेको जनाएको छ । त्रियुगा उद्योग वाणिज्य संघले संस्थाको तर्फबाट चासो देखाएको जनाएको छ । उसले त्रियुगा नगरपालिकासंग छलफलसमेत गरेको जनाएको छ ।
प्रनाउ गौतमले सिसि क्यामेराको मर्मत–सम्भार कार्य मुख्य रहेको बताउनुभयो । बजेटको आवश्यकता पर्ने भएकोले स्थानीय सरकारले ब्यवस्थापन गर्नुपर्ने उहाँको भनाई छ । “क्यामेरा जोड्नु मात्र ठूलो कुरो होइन, तर बेलाबेला मर्मत–सम्भार जरुरी पर्दछ ।” उहाँले भन्नुभयो “यसको जिम्मेवारी स्थानीय सरकारले गर्नुपर्दछ ।”
त्रियुगा उद्योग वाणिज्य संघ, गाईघाटका अध्यक्ष रमेश रसाईलीले सिसि क्यामेरा विग्रेको अवस्थामा अपराधिक गतिविधि बढ्दै गएको र जिउ, धन सुरक्षा चुनौतीमा परेको बताउनुभयो । अव, तत्काल नगरपालिकाले मर्मत–सम्भारका लागि के कति लागत लाग्छ, ब्यवस्था गर्नुपर्ने, त्यसमा संघले पनि सहयोग गर्ने उहाँले बताउनुभयो । त्यसमा प्रहरीको प्रमुख चासो हुनुपर्ने उहाँको भनाई छ ।
त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले प्रहरी कार्यालय र उद्योग वाणिज्य संघसंग छलफल गरी तत्काल मर्मत–सम्भारका लागि बजेट ब्यवस्थापन गर्ने र दिगोरुपमै यस सम्बन्धी योजना बनाउने बताउनुभएको छ । “सुरक्षा सम्बेदनशीलताप्रति नगरपालिकाले खेल्नु पर्ने भुमिकाका लागि म तयार छु” मेयर चौधरीले भन्नुभयो ।
हाल बजार क्षेत्रमा निजिरुपमा सिसि क्यामेरा जोड्नेको संख्या पनि बृद्धि भएको छ । तर, उनीहरुले आप्mनो निश्चित क्षेत्रमा सिमित पार्ने भएकाले बाह्य आपराधिक गतिविधिको निगरानी हुन सकेको अवस्था छैन ।
पहाडी भेग र तराई क्षेत्रको संगमस्थलको रुपमा रहेको गाईघाट पूर्वपश्चिम मदनमण्डारी राजमार्ग जोडिएपछि शान्ति, सुरक्षामा थप चुनौतीपूर्ण बनेको छ ।