
पूर्णपुष्टि, चैत्र ८ ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १२ का वडा अध्यक्षले समयमा कार्यालय नआउने कर्मचारीलाई गेटमै रोकिदिएका छन् । वडा अध्यक्ष नविन वान्तावा राईले ११ बजिसक्दा पनि कार्यालय नआउने कम्प्युटर अप्रेटर अन्जु समाललाई गेटमै रोकिदिएका हुन् । उनि चौथो तहको करारका कर्मचारी हुन् ।
सामाजिक परिचालिका बबिता यादव र कार्यालय सहयोगी पर्मिला कार्की पनि कार्यालय नआएकोले उनिहरु समेतलाई गेटमा रोक्ने वडा अध्यक्ष राईले बताए ।उनिहरुले वडामा आउने नआउने बारे केहि पनि जानकारी नदिएकोले आएमा गेटमै रोक्ने र समयमा नआउने सबैलाई हाजिरी समेत गर्न नदिने वडा अध्यक्ष राईले बताए ।
कर्मचारीलाई कार्यालय आउन ५ देखी १० मिनेटसम्म ढिलो हुन्छ केही छैन ‘उनले भने’ घण्टै ढिलो गरेर आउने त्यही भएर मैले गेटमा ताला लगाएर कार्यालय प्रवेश निषेध गरेको हो । कर्मचारीबाट कार्यालय ढिलो आउने काम पटक पटक दोहोरिएको कारणले गेटमै रोकेर कार्यालय प्रवेशमा रोक लगाएको अध्यक्ष राईले बताए ।
वडामा दर्ता र चलानी बाहेकको सबै काम कम्प्युटरबाट हुने भएकोले वडामा कुनै पनि सेवा दिन नसकेको अध्यक्ष राईले बताए । जनताको करले तलब खाएका कर्मचारीले मनमानी ढङ्गले कार्यालय समयमा उपस्थिति नहुने र वडामा जानकारी बिनै अनुपस्थित हुने कर्मचारीलाई कारर्वाही गर्न उनले नगरपालिकालाई माग गरेका छन् ।
कम्प्युटर अप्रेटर अन्जु समालले आफ्नो सानो बच्चा भएको कारणले गर्दा केही समय ढिलो कार्यालय पुगेको बताईन् । उनले धेरै ढिलो भन्दा पनि केही समय ढिलो भएको दाबी गरेकी छिन् । कार्यालयमा साढेँ १० बजे पुगेको उनले बताईन् ।
वडामा सेवा लिन आएका यम कुमार राईले वडामा जनप्रतिनिधि मात्र भेटिएको र कर्मचारीहरु नभएको कारणले गर्दा सेवा लिनबाट बन्चित भएको गुनासो गरेका छन् । बाईक पासको लागी वडामा सिफारिस लिन आएको राईले कर्मचारीको कारणले आफुले सेवा लिनबाट बञ्चित भएको बताए । ऋण लिनको लागी जग्गाको चार किल्ला निकाल्न आएको अर्को एक सेवा ग्राहीले वडामा २ घण्टादेखी कर्मचारीलाई कुरेर बसेको बताएका छन् ।

