
पूर्णपुष्टि,चैत २३
सवारी दुर्घटनामा नक्कली चालक उपस्थित गराई सक्कली चालक भगाउने संघका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । बिराटनगर–१२ का जीवन खनाल र सोही स्थानका ३३ बर्षीय नेत्र प्रसाद पाठक पक्राउ परेको हो । पक्राउ परेका यी दुबै जना कोशी यातायात प्रा.ली. ईटहरीका संचाक समितिका सदस्य रहेको खुल्न आएको छ ।
यही चैत्र १२ गते सुनसरी कोशी–८ तिनकुने राजमार्गमा ना ४ ख ५२९१ नम्बरको बसले मे ६ प ८००० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक ईलाम–८ तिल्केनीका मेख बहादुर राई सख्त घाईते भएकोमा उनको बिराट नर्सिङहोममा चैत्र १३ गते उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटना पश्चात तत्काल चालक फरार रहेकोमा जिल्ला प्रहरी कार्यालय सुनसरीले उनको खोजी गरिरहेकोमा कोशी यातायात प्रा.ली. ईटहरीका संचालक समितिका सदस्यद्धय जीवन र नेत्र प्रसादले सिरहा लाहान–८ घर भई बिराटनगर बस्दै आएका अमित कुमार गुप्तालाई बसको चालक भनि उपस्थित गराएका थिए ।
यता जिल्ला प्रहरी कार्यालय सुनसरीबाट उनि माथी अनुसन्धान गर्ने क्रममा गुप्ताले आफु दुर्घटना भएको बसको चालक नभएको र मलाई ५० हजार रुपैया दिने र सम्मानित अदालतबाट छुटकारा समेत दिलाई दिने भनि आर्थिक प्रलोभनमा पारी उपस्थित गराएको जानकारी गराएसंगै घटनाको यथार्त पर्दाफास भएको हो ।
यसरी झुक्यानमा पारी नक्कली चालक उपस्थित गराएको पाईएपछी यातायात प्रा.ली.का संचालक समितिका सदस्यद्धय जीवन र नेत्र प्रसादलाई पक्राउ गरी सार्बजनिक गरिएको हो । पिडित पक्षलाई क्रियाखर्च क्षतिपुर्ति दिलाउनु पर्ने संस्थाको जिम्मेबार कर्मचारी तथा बसका संचालक राजु थापा दायित्वबाट विमुख भई घटनालाई ढाकछोप गरि बास्तबिक चालकलाई जोगाउन खोजेको थियो ।
जसले गर्दा संघका प्रतिनिधीहरु र नक्कली चालक उपर समेतलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार उनीहरु उपर कानुनी कारबाही प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
