Wednesday, June 17News That Matters

साउनेमा पहिरो खस्दा गाईघाट–दिक्तेल सडक अवरुद्ध

पूर्णपुष्टि, असार १६ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १४ साउनेमा पहिरो खस्दा गाईघाट–दिक्तेल सडक अवरुद्ध भएको छ । साउनेको हडेथुम्कामा गएराति खसेको पहिरोको कारण आज बिहानदेखी सडक अवरुद्ध भएको वडा अध्यक्ष हेमराज मगरले बताएका छन् ।

वडा अध्यक्ष मगरका अनुसार हाडेथुम्काको डाँडाबाट पहिरो खसेको कारण सडक पुरिएर अवरुद्ध हुँदा सदरमुकाम गाईघाट भएर खोटाङको दिक्तेललगायत पहाडी क्षेत्रतर्फ हिँडेका सवारी साधन रोकिएको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले अहिले अवरुद्ध सडक खुलाउनका लागि गाईघाट–दिक्तेल सडक कार्यालय र त्रियुगा नगरपालिकासँग समन्वय गर्ने कार्य भइरहेको बताए । त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतका अनुसार पहिरो खसेको खबर पाउने बित्तिकै नगरपालिकाका प्राविधिक र डोजर अवरुद्ध सडक खुलाउन त्यसतर्फ परिचालन गरिसकिएको छ ।