
पूर्णपुष्टि, असार १६ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १४ साउनेमा पहिरोको कारण अवरुद्ध भएको गाईघाट–दिक्तेल सडक खुलेको छ । साउनेको हडेथुम्कामा गएराति खसेको पहिरोको कारण आज बिहानदेखी सडक अवरुद्ध भएको थियो ।
वडा अध्यक्ष हेमराज मगरका अनुसार दिउँसो १ बजे डोजरले पहिरो पन्छाएपछि अवरुद्ध भएको सडक खुलेको हो । पहिरोको कारण सडक अवरुद्ध भएपछि सदरमुकाम गाईघाट भएर खोटाङको दिक्तेललगायत पहाडी क्षेत्रतर्फ हिँडेका सवारी साधन रोकिएको थियो ।
