पूर्णपुष्टि, असोज १
साडे २ अर्ब बराबरको बुद्ध मूर्ति म्यानमार बाट नेपाल ल्याइँने भएको छ । ल्याइएको मूर्ति भैरवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा राखिने छ । मूर्ति म्यान्मारबाट हङकङ–कोलकाता हुँदै नेपाल आउने क्रममा छ ।
म्यान्मारमा निर्मित १ हजार ८ सय केजी तौल भएको मूर्ति स्पेनस्थित लुम्बिनी गार्डेन फाउन्डेसनको पहलमा राख्न लागिएको हो ।
नेपाल सरकारसँग समन्वय गरेर मूर्ति भैरहवा विमानस्थलमा राख्न लागिएको फाउन्डेसनका उपाध्यक्ष गोविन्द सुवेदीले जानकारी दिए ।
अन्तर्राष्ट्रिय विमानस्थलमा मूर्ति स्थापनासँगै शान्तिका प्रतीक भगवान् गौतमबुद्धका माध्यमबाट नेपाललाई विश्वभर प्रचारप्रसार गर्न थप सहयोग पुग्ने उनले बताए ।
स्पेनमा रहेका फाउन्डेसनका महासचिव एकराज गिरीका अनुसार मूर्ति १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको छ । यसमा प्रयोग भएको बहुमूल्य धातु ‘ह्वाइट जेड’ धातुको हालको अन्तर्राष्ट्रिय बजार मूल्य प्रतिग्राम १२ अमेरिकी डलर पर्ने उनले बताए ।
म्यान्मारबाट मूर्ति ल्याउन ‘ट्रान्स्पोर्टेसन चार्ज’ १२ हजार अमेरिकी डलर लागेको फाउन्डेसनले जनाएको छ ।
‘फाउन्डेसनमार्फत स्पेनमै १ सय १० हेक्टर जमिनमा बुद्धको मूर्तिसहितको पार्क बन्ने चरणमा छ, त्यसकै लागि म्यान्मारका खानी उद्योगीले हामीलाई बहुमूल्य धातु जडित मूर्ति दिने कुरा गर्नुभएको थियो,’ उनले भने, ‘हामीले वुद्ध जन्मेको देशमा पहिला उक्त मूर्ति राख्न भनेपछि सोहीअनुसार योजना बनेको थियो ।’
