
पूर्णपुष्टि, असार २६
सुनकोशीमा बेपत्ता भएकी दुई बालिका अझै पत्ता लाग्न नसेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उनिहरुको खोजी कार्य भने जारी रहेको जनाए । त्रियुगा नगरपालिका–१४ साउनेकी १३ वर्षीया विपना राई र १२ वर्षीया विना राई बेपत्ता भएको वडाध्यक्ष होमबहादुर मगरले बताउनुभयो । उनिहरुलाई बुधवार सुनकोशीले बेपत्ता पारेका थिए ।
वडाध्यक्ष मगरका अनुसार सिसाखोला दोभान धाप्लाङघाटबाट दिउँसो करिब २ बजेको समयमा उनीहरुलाई बगाएको हो । दिउसो पौडी खेल्ने क्रममा उनीहरुलाई कोशीले बगाएको थियो ।
बालिकाहरु गाईवस्तु चराउन गएको बेला गर्मीले पौडि खेल्न कोशी पसेका थिए । जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराका अनुसार कोशीमा बेपत्ता उनीहरुको खोजी कार्य भइरहेको छ । परिवार, गाउँले र प्रहरीले खोजी कार्य गरेपनि अझै ती बालिकाहरु फेला परेको छैन । हिजो रात परेपछि खोजी स्थगित गरी आज पनि खोजी कार्य जारी रहेको छ । कोशीमा पानीको वाहाव बढेसँगै खोजी कार्य प्रभावित भएको प्रहरीले जनाएको छ । कोशीको नाकाहरुमा भने प्रहरी तैनाथ राखिएको एसपी बोहराले बताउनुभयो ।
