Monday, April 20News That Matters

सुनकोसीमा डुब्यो यात्रुवाहक बस, चालककाे उद्धार

पूर्णपुष्टि/उदयपुर, माघ ४ ।
उदयपुर र भोजपुर जिल्ला जोड्ने सुनकोशी नदीमा फेरीबाट तार्दै गरिएको एक यात्रुवाहक आज बस डुबेको छ । स्थानीय स्रोत साधन प्रयोग गरी प्लाष्टिकका ड्रमलाई जोडेर बनाइएको फेरीमाथि राखेर उदयपुरबाट भोजपुरतर्फ तार्दै गरेको अवस्थामा बीचमा सन्तुलन विग्रेर बस डुकेको हो । बस फेरी सञ्चालकहरु मध्येको एक रत्न तामाङको नै रहेको बताइएको छ ।
चौदण्डीगढी नगरपालिका वडा नंं १ का पूर्व अध्यक्ष रोहित तामाङका अनुसार इटहरीबाट भोजपुरको बालखातर्फ जाँदै गरेको यात्रुवाहक बस डुबेको हो । बससंगै बसको चालक डुबेकोमा स्थानीयले उद्धार गरेको छ । बसबाट यात्रुहरु उतारेर तार्ने भएकाले मानवीय क्षती नभएको हो ।
फेरीलाई जेनेरेटरमा जोडेर फलामे लठ्ठाको सहायताले जोखिम मालेर कोशी वारपार गराउने र त्यसमाथि बस, बोलेरो, ट्याक्टर जस्ता ठूला सवारी साधनसमेत तार्दै आएको थियो । प्राविधि परिक्षणविना, विना सुरक्षा मापदण्ड र सरकारी स्वीकृतिबेगर नै त्यहाँ सञ्चालन हुदै आएकोमा आज दुर्घटना भएको हो ।
फेरी सञ्चालकहरुले बोलेरो तथा साना सवारी साधनको २ हजारसम्म र यात्रुवाहक बस, ट्याक्टर र ठुला सवारी साधनको ४ हजारसम्म शुल्क असुल्ने गरेको स्थानीयको भनाई छ ।
उदयपुर र भोजपुर जोड्ने सुनकोशी नदीको रानीतारमा मोटरेवल पक्की पुल २०७४ सालमा सिलान्यास गरी निर्माण थालिएको एक दशक नाघिसक्दा पनि नबनेपछि स्थानीय रत्न तामाङ लगायतको एक समुहले करिब २५ लाख बराबरको लगानीमा फेरी निर्माण गरि सञ्चालन गर्दै आएको थियो । पुल नहुँदा सवारी साधन वारपार गर्न सोही फेरी प्रयोग गर्न स्थानीयहरु बाध्य छन् । यात्रुवाहक बसहरुले भने वारी यात्रु झारेर झोलुङ्गेपुलबाट तार्ने र फेरीबाट बस तारेर यातायात सेवा दिदै आएको स्थानीय अम्बेबर राईले जानकारी दिए ।
सुनकोशीमा यात्रुवाहक बस डुबेको घटनाको पुष्टि गर्दै इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक प्रभात सुब्बाले स्थलगतरुपमा प्रहरी टोली खटिएर गएको जानकारी दिए ।