Wednesday, April 22News That Matters

सुन आयातमा नेपाल र भारतको नीतिगत भिन्नता : तस्करी बढ्ने जोखिम

पूर्णपुष्टि साउन १० । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले हालै आर्थिक वर्ष २०२४–२५ को बजेट भाषणमा सुनको भन्सार शुल्क १५ प्रतिशतबाट घटाएर ६ प्रतिशत कायम गरेकी छिन्। यसले गर्दा भारतमा सुनको मूल्य प्रति १० ग्राम करिब ४ हजार भारु घटेको छ।

तर नेपालले भने गत जेठमा ल्याएको बजेटमार्फत सुनको भन्सार दर १५ बाट २० प्रतिशत पुर्‍याएको छ। यसका कारण नेपाली बजारमा सुनको मूल्य भारतको तुलनामा निकै महँगो भएको छ। हाल भारत र नेपालको खुद्रा बजारमा सुनको मूल्यमा प्रति १० ग्राम करिब १५ हजार रुपैयाँको अन्तर देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पदाधिकारीहरूले यो मूल्य अन्तरले गर्दा सुन तस्करीको जोखिम बढेको चेतावनी दिएका छन्। विगतमा नेपालबाट भारततर्फ सुन तस्करी हुने गरेकोमा अब भारतबाट नेपालतर्फ तस्करी हुनसक्ने आशंका गरिएको छ।

वैधानिक आयात घट्दा सरकारले ठूलो मात्रामा राजस्व गुमाउने जोखिम रहेको व्यवसायीहरूको भनाइ छ। भन्सार विभागको तथ्यांक अनुसार विगत तीन वर्षमा नेपालमा वैधानिक सुन आयात लगभग आधाले घटेको छ। व्यवसायीहरूले सरकारलाई तत्काल भन्सार दर पुनरावलोकन गर्न आग्रह गरेका छन्। उनीहरूका अनुसार भारत र नेपालको खुद्रा बजार मूल्य करिब उस्तै हुनेगरी भन्सार दर कायम गर्नुपर्छ।