Tuesday, April 21News That Matters

‘सेटिङ’मा नपरेपछि साढे तीन वर्षमा २० हजार यात्रु विमानस्थलबाटै फिर्ता

पूर्णपुष्टि, बैशाख १२ । भिजिट भिसाको आवरणमा मौलाएको मानव तस्करीको सेटिङमा नपर्दा पछिल्लो साढे तीन वर्षमा २० हजारभन्दा बढी यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएका छन् । यो तथ्य अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चलिरहेको अनुसन्धानबाट खुलेको हो ।

चार गृहमन्त्रीको कार्यकालमा २० हजार यात्रु फिर्ता

बालकृष्ण खाण, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेका बेला अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘बोर्डिङ पास’ लिएर सुरुवाती सुरक्षा जाँच पार गरिसकेका २० हजार ४ सय ९६ जना यात्रु अध्यागमनबाटै फिर्ता गरिएका हुन् ।

यी यात्रुहरूसँग गन्तव्य मुलुक प्रवेश गर्न आवश्यक सबै कानुनी अनुमति भएको भए पनि उनीहरूलाई ‘गिरोहको सेटिङ’ मा नपर्दा विमानस्थलबाटै फर्काइएको अनुसन्धानबाट पुष्टि भएको छ ।

गृह प्रशासनका कर्मचारीसहित ट्राभल एजेन्सी, म्यानपावर कम्पनी, एयरलाइन्स र यो नेटवर्कमा रहेर बिचौलियाको काम गर्ने गिरोहको सक्रियतामा भिजिट भिसाको आवरणमा मानव तस्करी मौलाएको उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको हो ।

अनुसन्धानकै क्रममा विमानस्थलका प्रमुख अध्यागमन अधिकृत र बिचौलियाको भूमिकामा काम गर्ने अरू तीन जना पक्राउ परिसकेका छन् । भट्टराईसहित चारै जनालाई अख्तियारले तारिखमा राखेर अनुसन्धान गरिरहेको छ ।

विमानस्थल अध्यागमनका अनुसार ‘तोकिइएका कागजात’ पूरा नभएको बहानामा साढे तीन वर्षमा हजारौं यात्रु अध्यागमनबाट फर्काइएको भेटिएको छ । युरोप, एसिया, अफ्रिकालगायत देशमा भिजिट भिसामा यात्रा तय गरेका व्यक्तिहरूलाई अध्यागमन कक्षबाटै फिर्ता गरिँदा टिकटलगायतमा उनीहरूले ठूलो आर्थिक नोक्सानी पनि व्यहोर्न पुगेका छन् ।

सेटिङमा छिरेकालाई सहजै पार गराउने तर त्यस बाहेककाको हकमा ‘कागजात नमिलेको बहाना’ मा अध्यागमनबाटै फिर्ता गरिदिँदा हजारौं मानिस यात्राबाट वञ्चित हुने गरेका नेपाल प्रहरीले यसअघि नै गरेको अनुसन्धानबाट पुष्टि भइसकेको छ ।

नेपालबाट एसियाका यूएई, मलेसिया, कतार, ओमान, कुवेत, इराक तथा युरोप र अफ्रिकाका विभिन्न मुलुकमा भिजिट भिसामा जाने र त्यहाँ पुगेपछि ‘वर्किङ भिसा’ मा परिवर्तन गर्ने प्रवृत्ति मौलाएको दाबी गर्दै गृह मन्त्रालयले आफ्नो ‘तजबिज’ चल्ने गरी भिजिट भिसामा यात्रा गर्न कठोर सर्तसहितका मापदण्ड र निर्देशिका ल्याउने गरेको छ । कठोर सर्तले यात्रा गर्न नपाउनेसम्मको अवस्था निम्तिँदा गिरोहको सेटिङमा छिरेर रकम बुझाउनुपर्ने बाध्यतामा यात्रु परेका छन् ।

भिजिट भिसाको तथ्याङ्क

अध्यागमन विभागको २०७९ देखि २०८१ जेठ २१ सम्मको अभिलेखअनुसार यो अवधिमा विभिन्न मुलुकमा भिजिट भिसामा जानेको संख्या ७ लाख ५५ हजार ७ जना छ ।

वार्षिक विवरण:

  • २०७९ मा: १ लाख ७७ हजार ३ सय १० जना (दैनिक सरदर ४८६ जना)
  • २०८० मा: २ लाख ४ हजार ५ सय ३५ जना (दैनिक सरदर ५६० जना)
  • २०८१ मा: २ लाख ७६ हजार ६ सब २४ जना (दैनिक सरदर ७५८ जना)
  • २०८२ को जेठ २१ सम्म: ९६ हजार ५ सय ३८ जना

यो आँकडाले देखाउँछ कि भिजिट भिसामा जाने नेपालीहरूको संख्या क्रमशः बढ्दो छ ।