
पूर्णपुष्टि, साउन ३१ । स्पेनको प्रतिष्ठित फुटबल प्रतियोगिता ला लिगाको नयाँ सिजन २०२४-२५ आजदेखि सुरु हुँदैछ। एथ्लेटिक विल्वाओ र गेटाफेबीचको खेलबाट यस सिजनको सुरुवात हुनेछ। एथ्लेटिक क्लबको गृहमैदान सान माम्स बारियामा नेपाली समयानुसार राति १०:४५ बजे यो खेल सुरु हुने तालिका रहेको छ।
यस सिजन २० टोलीले प्रतिस्पर्धा गर्दैछन्। गत सिजनका विजेता रियल मड्रिड उपाधि रक्षाको लक्ष्यमा छन् भने बार्सिलोना र एट्लेटिको मड्रिडले उनीहरूलाई कडा चुनौती दिने अपेक्षा गरिएको छ। यस सिजन लेगानेस, भाल्लाडोलिड र स्पानयोल दोस्रो श्रेणीबाट बढुवा भई ला लिगामा फर्किएका छन्। अघिल्लो सिजन ला लिगा खेलेका अल्मेरिया, ग्रानाडा र क्याडिज भने रेलिगेसनमा परी दोस्रो श्रेणीमा झरेका छन्। नयाँ सिजनको पहिलो खेलमा एथ्लेटिक विल्वाओ र गेटाफे दुवै विजयी सुरुआत गर्ने लक्ष्यका साथ मैदानमा उत्रने छन्।
