Friday, May 1News That Matters

स्वयम्भूमा भोलीदेखि एक महिने मेला

पूर्णपुष्टि, साउन २० । स्वयम्भूमा भोलि सोमबारदेखि सुरु हुने एक महिने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अनुसार विश्वसम्पदा स्वयम्भू तथा आसपासका सम्पदास्थलमा दर्शनार्थीहरूको सुरक्षा, भीड व्यवस्थापन, सरसफाइ, रङरोगन र सडक बत्ती व्यवस्थापनको काम सम्पन्न भएको छ।

महासमितिका महासचिव अशोक बुद्धाचार्यले मन्दिर वरिपरिका अस्थायी पसलहरू हटाइएको र सहयोगापेक्षीहरूलाई बस्न नदिने व्यवस्था गरिएको जानकारी दिए। प्राचीन सम्पदास्थलका चैत्य तथा विभिन्न भागहरूको मर्मत र जीर्णोद्धार गरिएकाले यस वर्ष मेलामा आउनेहरूको संख्या बढ्ने अपेक्षा गरिएको छ।

महासमितिले थेरवाद, महायान र वज्रयान सम्प्रदायका अनुयायीहरू सहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट करिब पाँच लाख मानिस आउने अनुमान गरेको छ। काठमाडौँ महानगरपालिका-१५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले महासमितिसँग समन्वय गरी मेला व्यवस्थापनको प्रबन्ध मिलाइएको बताए। स्वयम्भूस्थित महानगरीय प्रहरी वृत्तले ट्राफिक प्रहरीसँग मिलेर सडक जाम व्यवस्थापन गर्ने योजना बनाएको छ।

गुँला पर्वका रूपमा बौद्ध धर्मावलम्बीहरूले मनाउने यस चाडका अवसरमा आयोजित मेलाको अवधिभर हरेक दिन बिहान गुँला बाजा बजाउँदै स्वयम्भू महाचैत्यको दर्शन र परिक्रमा गर्ने, शोभाभगवती, विजेश्वरी र सेतो मत्स्येन्द्रनाथको परिक्रमा गर्ने तथा करुणामयको नामले चिनिने सेतो मत्स्येन्द्रनाथको दर्शन गर्ने परम्परा रहेको छ।