
पूर्णपुष्टि, असार २ गते ।
हिजो नेपालको ७ वटै प्रदेश सरकारले बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले बजेट ल्याउँदा स्वास्थ्य, कृषि र रोजगारीलाई पहिलो प्राथमिकतामा राखेको छ ।
प्रदेश १
१ न. प्रदेशले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७÷७८को बजेटमा बिराटनगरको कोरोना उपचार केन्द्रलाई सरुवा रोग उपचार केन्द्रका रुपमा विकास गर्न ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
कोरोना जनसुरक्षा कोषको लागि पर्याप्त श्रोत व्यवस्था गरिएको र प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट घटाएको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बताउनुभयो ।
प्रदेश २
२ न. प्रदेशले ३३ अर्ब ५६ करोडको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले प्रदेश सभामा प्रस्तुत गरेको वार्षिक विवरणमा चालुतर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार र पुँजीगत तर्फ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार विनियोजन गरिएको छ ।
जनकपुरधाम प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न ४५ करोड ५३ लाख, क्यान्सर अस्पताल, ट्रमा सेन्टर र सरुवा रोग तथा महामारी अस्पतालका लागि बजेट छुट्टाइएको छ ।
सर्पदंश उपचारका लागि एन्टिभेनम उत्पादन गर्न अध्ययन अनुसन्धान केन्द्र स्थापना गर्न ५ करोड ५४ लाख रुपैयाँ छुटयाइएको छ । बजेटमा स्वास्थ्य सेवा बाहेक कृषि, शिक्षा र रोजगारीलाई प्रदेश सरकारले जोड दिएको मन्त्री यादवले उल्लेख गर्नुभयो ।
वाग्मती प्रदेश
वाग्मती प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०७७(७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख रुपैयाँको बजेट ल्याएको छ ।
वाग्मती प्रदेश सरकारले बजेटमा किसानलाई प्राथमिकता दिएको छ । कृषि र खाद्यान्नमा सहयोग पुग्ने कार्यक्रम प्रदेश सरकारले ल्याएको हो । वाग्मती प्रदेशमा बाँझो रहेका खेतबारीमा खेती गर्नेका लागि सहयोग गर्ने उल्लेख छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशले ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशसभा बैठकमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले चालुतर्फ १४ अर्ब ३४ करोड २६ लाख ८४ हजार र पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो ।
वित्तीय व्यवस्थातर्फ ५० करोड बजेट व्यवस्था गरिएको उहाँले बताउनुभयो । कोरोना महामारीको व्यवस्थापन, स्वास्थ्य क्षेत्रको सुदृढीकरण र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दा चालु आर्थिक वर्षको अनुपातमा भौतिक पूर्वाधार विकासको क्षेत्रमा भने बजेट विनियोजन कम हुन गएको मन्त्री गुरुङले बताउनुभयो ।
प्रदेश ५
५ न. प्रदेशले ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभामा बजेट पेश गर्नुभयो ।
बजेटमा चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार, पुँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख ५२ हजार र स्थानीय तह वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब १४ करोड ५० हजार विनियोजन गरिएको छ । बजेटमा स्वास्थ्य क्षेत्र, पूर्वाधार विकास, सूचना प्रविधिको विकास र उपयोगमा जोड दिइएको छ ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशले ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बराबरको बजेट सार्वजनिक गरेको हो ।
प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बजेट प्रस्तुत गर्नुभएको हो । प्रदेश सरकारले पुँजीगत तर्फ १९ अर्ब ६ करोड ९१ लाख २१ हजार, चालु तर्फ ११ अर्ब ६७ करोड र वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ९९ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशले ३३ अर्ब २८ करोड ४८ लाखको बजेट प्रस्तुत गरेको छ । चालुतर्फ १४ अर्ब १८ करोड ७८ लाख र पुँजीगत तर्फ १६ अर्ब ७२ करोड ८४ लाख बजेट विनियोजन भएको छ । प्रदेश सरकारले स्वास्थ्य, कृषि, सडक, खानेपानी, सिँचाई, उर्जालाई प्राथमिकता दिएको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहोराले निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषका लागि पनि बजेट छुट्याएको उल्लेख गर्नुभएको छ ।
