
उदयपुर, साउन ४ ।
त्रियुगा नगरपालिकाका सचेत युवा नागरिकहरूले हातिमारा खोला र त्रियुगा खोलाको सार्वजनिक जग्गा संरक्षण, अतिक्रमण हटाउने तथा भूमाफियामाथि कानुनी कारबाही गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत जिल्ला प्रशासन कार्यालय उदयपुरमा आज ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्रमा हातिमारा खोला संरक्षण अभियान २०७९ सालदेखि स्थानीय युवाको नेतृत्वमा सञ्चालन हुँदै आएको उल्लेख गर्दै अभियानको उद्देश्य सार्वजनिक जग्गा संरक्षण, प्राकृतिक स्रोतको रक्षा तथा भावी पुस्ताको अधिकार सुरक्षित गर्नु रहेको जनाइएको छ ।
अभियानका अनुसार हातिमारा खोला र त्रियुगा खोलाको सार्वजनिक जग्गा अतिक्रमण हटाउन यसअघि पनि नक्सा, अदालतको फैसला तथा अन्य प्रमाणसहित प्रशासन र त्रियुगा नगरपालिकामा पटक–पटक ज्ञापनपत्र बुझाइएको थियो । केही स्थानबाट अतिक्रमण हटाइए पनि पुनः संरचना निर्माण गरी अतिक्रमण भइरहेको र धेरै सार्वजनिक जग्गा अझै अतिक्रमणमै रहेको दाबी गरिएको छ।
ज्ञापनपत्रमा हातिमारा खोला केवल पानी बग्ने प्राकृतिक बहाव मात्र नभई स्थानीय वातावरण, जैविक विविधता, भू–जल पुनर्भरण, बाढी व्यवस्थापन तथा त्रियुगावासीको साझा सम्पत्ति भएकाले यसको संरक्षण आवश्यक रहेको उल्लेख गरिएको छ । साथै केही भूमाफिया र जग्गा दलालले सार्वजनिक जग्गालाई निजी स्वामित्वको भन्दै बिक्री–वितरण गरेको आरोप लगाउँदै त्यसबाट सर्वसाधारण आर्थिक रूपमा पीडित बनेको दाबी गरिएको छ ।
सचेत युवा नागरिकहरूले प्रशासनसँग सरकारी तथा सार्वजनिक जग्गाको आधिकारिक नक्सा र सीमाङ्कनका आधारमा सम्पूर्ण अतिक्रमण तत्काल हटाउन, सार्वजनिक जग्गा बिक्री–वितरणमा संलग्न भूमाफिया र दलालमाथि निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्न, पीडित नागरिकलाई क्षतिपूर्ति दिलाउन तथा अदालतको फैसला र प्रचलित कानुनको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न माग गरेका छन् ।
त्यस्तै, हातिमारा र त्रियुगा खोलाको सार्वजनिक क्षेत्र संरक्षणका लागि सरोकारवाला निकायको संयुक्त अनुगमन समिति गठन, अतिक्रमण दोहोरिन नदिन स्थायी निगरानी संयन्त्र सञ्चालन तथा कानुनी शासन प्रभावकारी रूपमा लागू गर्न पनि उनीहरूको माग छ ।
माग सम्बोधन नभए सार्वजनिक सम्पत्ति संरक्षण र वातावरणीय न्यायका लागि संविधान र कानुनले दिएको शान्तिपूर्ण लोकतान्त्रिक माध्यमबाट थप संघर्षका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने हात्तिमारा खोला खोज अभियानता राहुल यादवले बताए ।


