Monday, July 20News That Matters

कोशीमा पानीको बहाव २ लाख क्युसेक नाघ्यो, ब्यारेजका २८ ढोका खोलिए

पूर्णपुष्टि/सप्तरी, साउन ३ ।

अविरल वर्षापछि कोशी नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढ्दै २ लाख क्युसेक नाघेको छ। पानीको सतह बढेसँगै कोशी ब्यारेजका ५६ मध्ये २८ वटा ढोका खोलिएको छ भने नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा डीएसपी हेमराज घिमिरेका अनुसार आइतबार बिहान ८ बजे कोशी नदीमा १ लाख ७६ हजार ३०५ क्युसेक पानीको बहाव मापन गरिएको थियो। दिउँसो ३ बजेसम्म यो बढेर १ लाख ९० हजार ३९० क्युसेक पुगेको थियो भने दिउँसो ४ बजे २ लाख ९ हजार ८४० क्युसेक पुगेको छ।

पानीको बहाव निरन्तर बढ्दै खतराको तह नजिक पुगेपछि कोशी ब्यारेजमा चेतावनीस्वरूप रातो झण्डा फहराइएको छ र रातो बत्तीसमेत बालिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षाकर्मी तथा सम्बन्धित निकायलाई उच्च सतर्क अवस्थामा राखिएको छ।

प्रशासनले कोशी नदी आसपासका बासिन्दालाई नदी किनार तथा तटीय क्षेत्रमा अनावश्यक आवतजावत नगर्न, माछा मार्ने, डुंगा सञ्चालन गर्ने तथा अन्य जोखिमपूर्ण गतिविधि नगर्न आग्रह गरेको छ। साथै नदी आसपासका स्थानीय तह, विपद् व्यवस्थापन समिति र सुरक्षा निकायलाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।

जल तथा मौसमसम्बन्धी निकायले आगामी केही समय वर्षा जारी रहने सम्भावना औँल्याएका कारण कोशी नदीको बहाव अझ बढ्न सक्ने अनुमान गरिएको छ। यसैले तटीय क्षेत्रका नागरिकलाई आधिकारिक सूचनामा ध्यान दिन, अफवाहमा विश्वास नगर्न र आवश्यक परे सुरक्षित स्थानमा जान प्रशासनले अनुरोध गरेको छ।