Monday, April 20News That Matters

हेटौंडामा अनलाइन ठगी धन्दा चलाउने ९ भारतीय नागरिक पक्राउ

पूर्णपुष्टि, साउन २३ ।  हेटौंडामा अनलाइन ठगी धन्दा चलाएको आरोपमा ९ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। मकवानपुर प्रहरीले सोमबार साँझ हेटौंडा उपमहानगरपालिका–४ पारिजातपथस्थित एक फ्ल्याटमा छापा मारी यी व्यक्तिहरूलाई पक्राउ गरेको हो।

मकवानपुरका प्रहरी प्रमुख सिताराम रिजालका अनुसार ‘मेडिअसिष्ट’ नामक कम्पनी दर्ता गरी कार्यालय सञ्चालन गरेर अनलाइन ठगी गर्ने गरेको पाइएको छ। यो कम्पनी १० फागुन २०८० मा दर्ता भएको थियो। कम्पनीले सर्वसाधारणलाई विभिन्न प्रलोभन देखाएर, सट्टेबाजी खेलाएर, क्रिप्टोकरेन्सीको काम गरेर र उपहार वा पार्सलको बहानामा अनलाइन ठगी गर्ने गरेको खुलेको छ।

पक्राउ परेकाहरूमा नवनित कुमार, शाहरुख खान, कुन्दन कुमार, आशिष कब्डौला, विशाल कक्कड, लोकेशकुमार दुवे, विकासकुमार सिंह, अरुण कुमार र कुनाल शर्मा रहेका छन्। यी सबै भारतका विभिन्न राज्यका नागरिक हुन्। प्रहरीका अनुसार यी व्यक्तिहरू कम्पनीका कर्मचारी रहेको र १८ हजारदेखि ५० हजार रुपैयाँसम्म तलब पाउने गरेका थिए।

यसैबीच, कम्पनीका सञ्चालक द्रबिनकुमार सिंह, रजत शर्मा र प्रकाश भनिने व्यक्ति फरार रहेका छन्। प्रहरीले यी तीन जनाको खोजी गरिरहेको जनाएको छ। प्रहरीले कार्यालयबाट ७ वटा ल्यापटप, ३ वटा राउटर, १३ वटा मोबाइल, १ हार्डडिस्क, १ वेब क्यामेरा र विभिन्न स्ट्याम्पहरू बरामद गरेको छ। अनुसन्धानबाट यस कम्पनीले कानून बमोजिम कुनै आर्थिक कारोबार नगरेको र अभिलेखीकरण पनि नगरेको खुलेको छ। प्रहरी प्रमुख रिजालले यस मामिलामा थप अनुसन्धान जारी रहेको र फरार आरोपीहरूको खोजी भइरहेको बताएका छन्।