
पूर्णपुष्टि जेष्ठ २५
त्रियुगा नगरपालिका वडा नं १३ ले वडामा रहेको २५ कोरोना संक्रमित परिवारलाई रोग सँग लड्ने सामाग्रीहरु प्रदान गरेको छ । वडाले संक्रमितहरुका लागि पोषणयुक्त तागत बढाउने फलफुल, स्वास्थ्य सामाग्री र औषधी प्रदान गरेको हो ।
मंगलबार वडाअध्यक्ष पशुपती चौधरी सहित स्वास्थ्यकर्मीहरुको टोलीले संक्रमितको घरघरमै पुगेर फलफुल, औषधी र स्वास्थ्य सामाग्री प्रदान गरेको छ । टोलीले सामाग्री सँगै स्वास्थ्य परामर्श पनि गराएको छ । स्वास्थयकर्मीहरुले संक्रमितहरुलाई कोरोना पराजित गर्न कत्ति पनि नआत्तिन भनेका छन् । आत्मामनोवल मजबुद बनाउने र पोषणयुक्त खाना, झोलीलो खाना, सरसफाईमा ध्यान बारे सल्लाह पनि दिएको छ । संक्रमितहरुले सुरक्षित स्थानमा बस्नु पर्ने र अन्य परिवारका सदस्यहरु सँग घुलमिल नगर्न पनि सुझाएको छ ।
आज वडाको लक्ष्मीपुर, पोर्ताहा, ढिक लगायतका संक्रमितहरुलाई सामाग्री उपलब्ध गराएको हो । वडाले कोरोना संक्रमणबाट मृत्यु भएको एक परिवारलाई किरिया खर्च बापत रु ५ हजार आर्थिक सहयोग पनि गरेको छ ।
वडामा रहेको संक्रमितहरुलाई सहजै कोरोना सँग लड्न र पराजय गर्नका लागि स्वास्थ्य सामाग्री, फलफुल र औषधी वडाले बितरण गर्दै आईरहेको वडाअध्यक्ष पशुपती चौधरीले बताउनुभयो ।
वडाले यस भन्दा पहिले पनि २७ संक्रमित परिवारमा स्वास्थ्य सामाग्रीहरु प्रदान गरिसकेको छ भने कोरोना संक्रमण बाट मृत्यु भएको ४ मृतक परिवारलाई किरिया खर्च बापत रु ५ हजारका दरले आर्थिक सहयोग समेत गरिसकेको अध्यक्ष चौधरीले बताउनुभयो ।
वडाले हाल सम्म ५२ संक्रमित परिवारमा फलफुल, औषधी र स्वास्थ्य सामाग्री प्रदान गरिसकेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
संक्रमितहरुलाई स्वास्थ्यकर्मीहरुको सल्लाह अनुसारको औषधी, फलफुल स्याउ अंगुर, स्वास्थ्य सामाग्री सेनिटाईजर, मास्क, पन्जा लगायतका सामाग्रीहरु प्रदान गरिएको हो ।

