Saturday, June 20News That Matters

१७ किलोभन्दा बढी गाँजासहित एक जना पक्राउ

पूर्णपुष्टि/उदयपुर, असार ६ ।

उदयपुरको कटारी नगरपालिका–६ स्थित बैनाज पुल भित्री सडक खण्डबाट प्रहरीले १७ किलोभन्दा बढी गाँजासहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शुक्रबार राति करिब १ः२० बजे प्रहरी चौकी रिस्कुबाट खटिएको प्रहरी टोलीले उदयपुरगढीतर्फबाट कटारीतर्फ आउँदै गरेको मोटरसाइकललाई जाँचका लागि रोक्न खोजेको थियो। तर मोटरसाइकल चालकले प्रहरीको संकेत अटेर गर्दै तीव्र गतिमा भाग्ने प्रयास गरेको थियो।

भाग्ने क्रममा मोटरसाइकलको पछाडि सवार उदयपुरगढी गाउँपालिका–६ बाउनटार घर भई हाल कटारी नगरपालिका–४ सिम्ले बस्दै आएका ३० वर्षीय नरबहादुर पुलामी मगर मोटरसाइकलबाट लडेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। उनको साथबाट प्रहरीले १७ दशमलब ४० किलोग्राम लागूऔषध गाँजा बरामद गरेको जनाएको छ।

घटनापछि मोटरसाइकल चालक फरार भएका छन्। फरार चालक तथा मोटरसाइकलको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका पुलामी मगरलाई इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।