Monday, July 6News That Matters

१ महिनाको अवधिमा २ सय महिला तथा बालिकामाथि हिंसा

पूर्णपुष्टि, जेष्ठ २४

निषेधाज्ञाको एक महिना अवधिभित्र दुई सय महिला तथा बालिकाहरु विभिन्न प्रकारका हिंसाको सिकार भएका छन् । दोस्रो चरणको कोरानाले गर्दा भएको निषेधाज्ञाको समयमा घरेलु हिंसा, सामाजिक हिंसा, बलात्कार, बलात्कारको प्रयास, यौन दुव्र्यावहार, मानव वेचविखन, हत्या, हत्याको प्रयास,आत्महत्या लगाएतका हिंसामा महिला तथा बालिकाहरु परेको महिला पुनस्र्थापना केन्द्र ( ओरेक) नेपालको तथ्याङकले देखाएको छ ।

नेपाल सरकारले पटक–पटक निषेधाज्ञा थप गरिरहदा २०७८ वैशाख १६ देखी जेष्ठ १५ सम्मको अवधिमा आरेक नेपालको कार्यक्षेत्रभित्र रहेको ११ जिल्लाहरुमा गरिएको सर्वेक्षणले दुई सय महिला तथा बालिका हिंसामा परेको तथ्याङक सार्वजनीक गरेको हो ।

ओरेकले सार्वजनीक गरेको तथ्याङकअनुसार सबै भन्दा बढी घरेलु हिंसमा ४५ प्रतिशत, बलात्कार २३ प्रतिशत, सामाजिक हिंसा ८ प्रतिशत, हत्या ७ प्रतिशत, हत्या प्रयास र यौन दुव्र्यावहारमा ३/३ प्रतिशत, आत्महत्या २ प्रतिशत, बलात्कार र मानव वेचविखनमा १/१ प्रतिशत र अन्यमा ९ प्रतिशत हिंसामा महिला तथा बालिकाहरु परेको देखाउछ ।

निषेधाज्ञाको समयमा संकलित घटनाहरु मध्ये सबैभन्दा बढी ४५ प्रतिशत अर्थात ९० जना महिलाहरु आफ्नै श्रीमान् र परिवारका सदस्यहरुबाट हिंसाभोग्न बाध्य भएको तथ्याँकले देखाउँछ । अभिलेखीकरण भएका घरेलु हिंसाका घटनालाई हेर्दा महिलाहरुलाई दाइजो नल्याएको वा कम ल्याएको निहुँमा, छोरी छोरी जन्माएको निहुँमा, विवाह भएको लामो समयसम्म बच्चा नजन्मिएकोमा सबै दोष महिलालाई नै लगाईे, चारित्रिक आरोप लगाई, गालीगलौज तथा अपशब्द प्रयोग गरी ३९ जनालाई शारीरिक तथा २६ जनालाई मानसिक यातना दिएको पाइएको छ ।

यसैगरी २५ जना महिला तथा बालिकाहरुलाई खान लाउन नदिई घरनिकाला गरि वेवास्ता गरिएको, बच्चाको जन्मदर्ता, विवाह दर्ता, नागरिकता नबनाइदिएको र स्वास्थ्य सुविधा जस्ता आवश्यक स्रोत सुविधावाट बञ्चित गरी हिंसा गरिएको पाइएको छ । घरेलु हिंसाका घटनामा ७६ प्रतिशत (६८ जना) श्रीमान र २४ प्रतिशत (२२ जना) परिवारका सदस्य संलग्न रहेको देख्न तथ्याङकमा उल्लेख छ ।

यसैगरी घरेलु हिंसाका घटना बाहेक यस अवधिमा ४५ वटा बलात्कार, १५ वटा सामाजिक हिंसा, १४ वटा हत्या, ५ वटा हत्या प्रयास, ६ वटा यौनदूव्र्यवहार, ४ वटा आत्महत्या, २ वटा मानव बेचविखन, २ वटा बलात्कारको प्रयास र १७ वटा अन्य प्रकृतिका हिंसाका घटना संकलन भएका छन् । अन्य प्रकिृतिका घटना मध्ये पारिवारिक स्रोतका अनुसार लैंगिक हिंसाको कारणले २ जनाले आत्महत्या प्रयास गरेका र १५ जनालाई अलपत्र पारिएका घटना रहेको छ ।

हिंसा प्रभावितहरुको उमेर समूहलाई हेर्दा सबैभन्दा बढी ६४ जना १७ देखि २५ वर्ष  उमेर समूहका महिलाहरु हिंसाबाट प्रभावित भएको पाईएको छ । यस्तैगरी २६ देखि ३५ बर्ष उमेर समूहका ५२ जना, ३६ देखि ४५ बर्ष उमेर समूहका २२ जना, ४६ बर्षभन्दा माथिका उमेर समूहका १४ जना महिलाहरु विभिन्न प्रकारका हिंसाबाट प्रभावित रहेका छन् । १६ बर्षभन्दा कम उमेरका ४६ जना बालिकाहरु हिंसाबाट प्रभावित भएको पाइएको छ र २२ जना उमेर समूह थाहा नभएका महिला हिंसाबाट प्रभावित भएका छन् ।

कोरोना महामारीको समयमा निषेधाज्ञा गरि सरकारले नागरिकहरुलाई सुरक्षि राख्ने प्रयास गरेको छ । यद्यपि महिला तथा बालिकामाथि हिंसा हुनका लागि यस विपदको अवस्थाले पनि  वातावरण सिर्जना गरेको छ । जसका कारण महिला तथा बालिकाहरु हिंसापूर्ण वातावरणमा बाँच्न बाध्य भएको तथ्याङ्कले पुष्टी गर्दछ ।

ओरेकद्वारा सञ्चालन गरिएका २ वटा हटलाईन, २३ जना मनोविमर्शकर्ता, महिला मानव अधिकार रक्षक, साझेदार महिला सामुदायीक संघसंसस्थाबाट यी घटनाहरु संकलन गरिएको ओरेकको सुचना अधिकारी एलिना श्रेष्ठले जानकारी दिनुभयो । दुई सय मध्ये ४४ वटा घटनाहरु सञ्चार माध्यमबाट संकलन गरिएको श्रेष्ठले बताउनु भयो ।