
पूर्णपुष्टि, साउन १२ गते ।
महिलाको हातबाट दुई लाख रुपैयाँ लुटेर भागेका दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ७ बस्ने २७ वर्षीय जितेन्द्रप्रसाद साह र २१ वर्षीय दीपेन्द्र मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।
साह र मण्डलले जनकपुरधाम उपमहानगरपालिका–१ बस्ने शर्मिला यादवले बैंकबाट झिकेर ल्याउँदै गरेको दुई लाखसहित उनको मोबाइल, नागरिकता र कागजात भएको झोला लुटेर भागेको देखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
साह प्रदेश २–०२–००५प००८५ नम्बरको मोटरसाइकल चलाइरहँदा पछाडि बसेका मण्डलले शर्मिलाको हातबाट झोला लुटेका थिए । पछि दुवै जनाले रकम बाँडफाँट गरेको देखिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा साहको घरबाट शर्मिलाको लुटिएको मोवाइल र नगद ५४ हजार तथा मण्डलको घरबाट लुटिएकोमध्ये ७८ हजार रुपैयाँसमेत बरामद भएको छ ।
यो घट्नाको विषयमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ । साउदीमा रहेका श्रीमान् देबशरणले पठाएको रकम बैंकबाट झिकेर घरतर्फ जान लाग्दा मोनास्टिक स्कुल नजिकै एउटा मोटरसाइकलमा आएका दुई जनाले रकम भएको भोला नै शर्मिलाको हातबाट लिएर भागेका थिए ।
