Wednesday, July 1News That Matters

२ वर्षदेखी साउदी जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन प्रधानमन्त्रीले पहल गर्ने

पूर्णपुष्टि, फागुन ९ गते ।
विगत २ वर्षदेखी साउदी जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आज मंगरबार बिहान दिनेशका बुवा गणेशबहादुर कार्कीसहितको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा दाहाललाई भेटेर उद्धार गरिदिन आग्रह गरेका थिए । भेटमा प्रधानमन्त्री प्रचण्डले कार्कीलाई जेलमुक्त गरी नेपाल ल्याउने कार्यको तत्काल पहल गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षणसमेत गराएका हुन् ।

वर्तमान सरकार विदेशमा रहेका नेपाली श्रमिक तथा कामदारको हकहित र सुरक्षामा सबैभन्दा बढी संवेदनशील छ । विदेशमा रहेका नेपालीहरूले राष्ट्रिय अर्थतन्त्रको ठुलो हिस्सा धानेका छन्, उनीहरूको हकहित र सुरक्षाको प्रबन्ध गर्नु राज्यको जिम्मेवारी हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको आत्मस्वाभिमान र उनीहरूले आर्जन गरेको पुँजी, सीप र प्रविधिलाई नेपालको हित अनुकूल परिचालन गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीले बताए । दिनेश ट्राफिक नियम उल्लंघन गरेको कसुरमा दुई वर्षदेखि साउदी अरबको जेलमा छन् । उनी धनकुटाको चौबिसे गाउँपालिका वडा नं. ४ निवासी हुन् ।